
काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले एमसीसी सम्झौता राष्ट्रिय सहमतिमा मात्र अगाडि बढाउनुपर्ने बताउनुभएको छ ।
सोमबार अन्तर्राष्ट्रिय मातृभाषा–२०२२ का उपलक्ष्यमा नेपाल प्रज्ञा प्रतिष्ठानले गरेको मातृभाषा राष्ट्रिय कविता महोत्वस–२०७८ लाई सम्बोधन गर्दै पुनले ‘एमसीसी’ शब्द उच्चारण नगरी यसमा राष्ट्रिय सहमति आवश्यक रहेको धारणा राख्नुभएको हो ।
उपराष्ट्रपति पुनले देशमा राष्ट्रिय, अन्तर्राष्ट्रिय विषयहरूमा मतभिन्नता प्रकट भइरहेको भन्दै दुरगामी महत्वको विषयमा राष्ट्रिय सहमति हुँदा राम्रो हुने बताउनुभयो । राष्ट्रिय सहमति नभएको अवस्थामा राजनीतिक द्वन्दको खतरा हुने उहाँले उल्ल्लेख गर्नुभयो ।
उपराष्ट्रपति पुनले मातृभाषालाई सरकारी कामकाजको भाषा बनाउनुपर्नेमा जोड दिनुभयो । मातृभाषालाई सरकारी कामकाजको भाषा बनाउँदा सम्बन्धित समुदायलाई सरकारी सेवा लिन सहज हुने उहाँको भनाइ छ ।
भाषा आयोगले सिफारिस गरे अनुसार सम्बन्धित प्रदेशहरूमा मातृभाषामा सेवा दिन ढिलाई नगर्न उहाँले ध्यानाकर्षण गराउनुभयो ।
प्रतिक्रिया दिनुहोस्