
काठमाडौं, फागुन १० । गैरकानूनी रुपमा अनलाइन जुवा खेलाएको कसुरमा एक चिनियाँसहित ३७ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा ३६ जना नेपाली नागरिक हुन् । महानगरीय प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त नयाँ बानेश्वरको संयुक्त टोलीले गएराति नयाँ बानेश्वरको एक घरमा छापा मारी उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
उनीहरूले अनलाइनमा जुवा खेलाउने र त्यसैका आधारमा धम्क्याएर रकम असुल्ने गरेको प्रहरीको दावी छ । उनीहरु अन्य गैरकानूनी काम पनि संलग्न रहेको पाइएको प्रहरीले जनाएको छ ।
उनीहरुविरुद्ध काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरि अनुसन्धान अगाडी बढाइएको महानगरिय प्रहरी परिसर काठमाडौंका प्रवक्ता दिनेशराज मैनालीले जानकारी दिनुभयो ।
पक्राउ पर्ने चिनियाँ नागरिक अनलाइन जुवा खेलाउने र धम्क्याउने गिरोहका मुख्य नाइके रहेको बताइएको छ । अन्य ३६ जना नेपालीहरु भने तिनै चिनियाँको निर्देशनमा काम गर्ने गरेको पाइएको छ । २ वर्षअघि पनि राजधानीबाट १ सय २० चिनियाँ नागरिक गैरकानुनी रुपमा बसी अपराध गरेको कसुरमा पक्राउ परेका थिए ।
उनीहरूलाई अध्यागमन विभागले जरीवाना तिराएर चीन ‘डिपोर्ट’ गरेको थियो । अभद्र व्यवहारको कसुरमा समेत दोषी देखाई ती नागरिकलाई जरीवाना तिराएको थियो ।
प्रतिक्रिया दिनुहोस्