१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


पोखरामा असिनापानीले ११ करोडको क्षति, दुई भैंसी मरे


312
Shares

काठमाडौं । पोखरामा गत आइतबार परेको भीषण असिनापानीले ११ करोड रुपैयाँ बराबरको क्षति भएको छ ।

बाक्लो असिना पानीका कारण केही जनावर र तरकारी तथा फलफूलसहित बालीनाली नष्ट हुँदा ११ करोड रुपैयाँको क्षति भएको पोखरा महानगरपालिका कृषि तथा पशु विकास महाशाखाले जनाएको छ ।

पोखरा महानगरपालिकाका कृषि महाशाखाका प्रमुख मनोहर कडारियाले पोखरा वडा नम्बर ९, ११, १३ र १८ मा धेरै क्षति भएको र अन्य वडामा सामान्य क्षति भएको जानकारी दिनुभयो ।

कडारियाले राज्यले कृषकलाई दिएको बीमा सुविधासमेत कृषकले सदुपयोग गरेमा यस प्रकारका क्षतिबाट राहत पुग्नसक्ने बताउनुभयो ।

उहाँले असिनाका कारण सो वडाहरूमा तरकारी बाली, नगदे बाली, फलफूल, तोरी, आलु लगायतका बालीमा पूर्ण क्षति पुगेको जानकारी दिनुभयो ।

असिनाकै कारण पोखरा महानगरपालिका वडा नम्बर ११ मा फलमान गुरुङले सञ्चालन गर्दै आएको उदय अर्गानिक कृषि फार्मका २ वटा भैंसी मरेका छन् । फार्ममा टिनमा असिनाको भार पर्दा सो भाँचिएर थिचेको कारण भैंसी मरेका हुन् ।

त्यस्तै, तरकारीका टनेलहरू भत्किएका छन् । गुरुङका अनुसार फर्ममा २० लाख बराबरको क्षति भएको छ ।

पोखरा महानगरका कुल ३३ वडामध्ये २ हजार १ सय ८१ हेक्टर क्षेत्रफलमा तरकारी खेती हुने गरेको छ । फलफूल ३ सय २० हेक्टर क्षेत्रफलमा, आलु १ हजार २ सय ५३ हेक्टर क्षेत्रफलमा उत्पादन हुने गरेको छ ।

पोखरामा गत फागुन ८ गते आइतवार दिउँसो भीषण असिनापानी परेको थियो । असिनापानीले पोखराको सडक केही समय अवरुद्ध भएको थियो ।