१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


मेलम्ची खानेपानी चैत मसान्तभित्रै काठमाडौं ल्याइने


286
Shares

काठमाडौं । मेलम्ची खानेपानी आयोजनाले मेलम्चीको पानी चैत मसान्तभित्रै अस्थायी रूपमा काठमाडौं ल्याउने जनाएको छ ।

असार र साउनमा आएको बाढीले आयोजनाको मुख्य सुरुङ, सहायक सुरुङ टालिएको थियो भने हेडवक्स पुरिएको थियो । त्यसपछि गत माघ दोस्रो साताबाट आयोजनाले नदी सफाइको काम अघि बढाएको थियो ।

बाढीले बगाएर ल्याएको स्थानमा ठूला चट्टान फुटाउनका लागि नेपाली सेनाले काम गरिरहेको छ भने आयोजनाले सरसफाइको काम अघि बढाएको छ । बाढीका कारण पानी पथान्तरणको मुख्य सुरुङ पुरिएको थियो ।

अन्य सहायक सुरुङको मुख समेत थुनिएकोले आयोजनाले सरसफाइ गरिसकेको र पानी पठाइ निरीक्षण गर्न बाँकी रहेको जानकारी दिएको छ । सुरुङको सरसफाइ र निरीक्षण समयमै सकिए चैत मसान्तसम्ममा काठमाडौंमा अस्थायी रूपमा पानी ल्याउन सकिने आयोजनाका प्रवक्ता राजेन्द्र पन्तले जानकारी दिनुभयो ।

गत असार १ गते र १६ गते आएको बाढीले आयोजना स्थलमा २ अर्ब बराबरको क्षति गरेको थियो । सो पश्चात पुनर्निर्माणका लागि डेढ अर्ब लाग्ने आयोजनाको आंकलन छ ।

स्थायी रूपमा पानी ल्याउनका लागि पुरिएकै अवस्थामा रहेकालाई पुनर्निर्माण गर्ने वा नयाँ बनाउने भन्ने अध्ययन प्रतिवेदन अझै आउन बाँकी नै छ । यसरी हेर्दा कहिले स्थायी किसिमले पानी ल्याउन सकिन्छ एकीन भन्न सकिने अवस्था छैन ।

मौसम पूर्वानुमानबारे जानकारी नहुँदा आयोजनाले बाढीबाट मानविय र भौतिक क्षति व्यहोरिेको थियो । आयोजनाले आगामी दिनमा भने मौसम पूर्वानुमान र जलप्रवाह पत्ता लगाउनका लागि अत्याधु्निक उपकरण निर्माण र जडानको काम गरिरहेको छ ।