
काठमाडौं । अमेरिकाले रुस विरुद्ध नयाँ नाकाबन्दीको घोषणा गरेको छ ।
युक्रेनबाट छुट्टिन खोजेका दुई वटा प्रान्तलाई रुसले स्वतन्त्र देशको मान्यता दिंदै तिनीहरुको सुरक्षाका लागि भन्दै सेना पठाएको प्रतिक्रिया स्वरुप अमेरिकाले नाकाबन्दी लगाएको हो । अमेरिकी राष्ट्रपति जो बाइडेनले गएराती जारी गर्नुभएको नाकाबन्दी सम्बन्धि आदेश अनुसार अब रुसलाई पश्चिमा वित्त बजारमा निषेध गरिने छ ।
रुसले पश्चिमा देशहरुबाट कुनै पनि आर्थिक सहयोग गर्न पाउने छैन । त्यस्तै रुसले युरोपसहित पश्चिमा देशहरुसंग नयाँ ब्यापार गर्न पनि पाउने छैन । राष्ट्रपति बाइडेनले रुसले छिमेकी देशको सार्वभौमिकतामाथि हनन् गरेको भन्दै रुस यो भन्दा अघि बढ्यो भने आफूहरु कठोर जवाफ दिन तयारी अवस्थामा रहेको चेतावनी पनि दिनुभएको छ ।
रुसले हिजो युक्रेनबाट छुट्टिनका लागि पृथकतावादी आन्दोलन चलाउँदै आएका डोनेत्स्क र लुहान्स्क नामका दुई प्रान्तलाई स्वतन्त्र देशको मान्यता दिएकोथियो । रुसी कदमलाई अमेरिकासहित पश्चिमा देशहरुले युक्रेनमाथिको आक्रमणको सुरुवात भनेका छन् ।
रुसका ब्यापारिक समूह तथा संभ्रान्तहरुलाई पनि पश्चिमा संसारमा प्रवेश गर्न रोक लगाउने चेतावनी पनि अमेरिकी राष्ट्रपति बाइडेनले दिनुभएको छ ।
प्रतिक्रिया दिनुहोस्