
काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री शेरबहादुर देउवासंग भेटवार्ता गर्नुभएको छ ।
बिहिबार प्रतिनिधिसभामा एमसीसीबारे छलफल हुनु अघि दाहालले प्रधानमन्त्री देउवासंग भेटवार्ता गर्नुभएको हो ।
प्रधानमन्त्री देउवालाई भेट्नु अघि दाहाल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच सिंहदरवारमा छलफल भएको थियो । नेपालसंग छलफल सकेर दाहाल देउवालाई भेट्न प्रधानमन्त्री निवास बालुवाटार जानु भएको हो ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोबिन्द परिवारले अध्यक्ष दाहाल र प्रधानमन्त्रीबीच एमसीसीकै विषयमा छलफल भएको इमेजखबरलाई जानकारी दिनुभयो ।
सत्ता गठबन्धनमा सहभागी माओवादी र एकीकृत समाजवादीले यथास्थितिमा एमसीसी संसदबाट पास गराउन नहुने अडान राख्दै आएका छन् । प्रधानमन्त्री देउवा भने चाँडै एमसीसी संसदबाट पास गर्ने पक्षमा हुनुहुन्छ ।
अमेरिकाले यही फागुन १६ गतेभित्र सम्झौता संसद्बाट टुंगो लगाउन यसअघि नै नेपाल सरकारलाई भनिसकेको छ । एमसीसी सबै दलको सहमतिमा अनुमोदन गर्न सरकारले पहल गरिरहेको छ ।
सत्ताको नेतृत्वकर्ता कांग्रेसबाहेक जसपाका डा. बाबुराम भट्टराई समूह मात्र एमसीसी अनुमोदन गराउनुपर्ने पक्षमा छ । प्रधानमन्त्री देउवा दुई दिनभित्र एमसीसी अनुमोदन गराउने तयारीमा जुट्नुभएको छ ।
संसदीय छलफल सकेसम्म छोटो बनाएर अनुमोदन गराउने पक्षमा रहनुभएका देउवा प्रमुख प्रतिपक्ष नेकपा एमालेसँग पनि उत्तिकै छलफलमा हुनुहुन्छ ।
देउवालाई १३ सांसद भएको लोकतान्त्रिक समाजवादी पार्टीले भने साथ दिने वचन दिइसकेको छ ।
प्रतिक्रिया दिनुहोस्