
काठमाडौं । एमसीसीविरुद्ध आन्दोलनमा रहेका सत्ताघटकका विद्यार्थी नेताहरुलाई गृहमन्त्री बालकृष्ण खाँणले फोन गरी संयमित रहन आग्रह गर्नुभएको छ ।
बिहीबार सत्ता गठबन्धनमा आबद्ध दलका विद्यार्थी नेताहरुलाई टेलिफोन गरी संयमतापूर्वक आन्दोलन गर्न आग्रह गर्नुभएको हो ।
गृहमन्त्री खाँणले आन्दोलनमा संयमित हुन र कतै पनि क्षति नपुगोस् भनेर सजग रहन आग्रह गर्नुभएको एमसीसीविरुद्ध नयाँबानेश्वर क्षेत्रमा प्रदर्शनरत नेकपा एकीकृत समाजवादीका निकट विद्यार्थी संगठन अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीले जानकारी दिनुभयो ।
आज पनि सत्तारुढ दल नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी, जनमोर्चालगायतका भ्रातृ संगठनले आन्दोलन गर्ने भएपछि मन्त्री खाँणले फोन गरेर नेताहरुलाई संयम बन्न आग्रह गर्नुभएको हो ।
गृह मन्त्रालयले प्रदर्शनलाई मध्यनजर गर्दै संसद् भवनको सुरक्षा थप बलियो बनाएको छ ।
यसअघि एमसीसी प्रस्ताव टेबुल हुँदाका बखत नयाँ बानेश्वर र आसपासको क्षेत्रमा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको थियो ।
प्रतिक्रिया दिनुहोस्