१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


आईसीसी टी–ट्वेन्टी विश्वकप छनोटमा नेपाल तेस्रो, ओमान ९ विकेटले पराजित

कुशल भुर्तेलको अर्धशतक, सन्दीप लामिछानेको तीन विकेट

351
Shares

काठमाडौं । आईसीसी टी–ट्वेन्टी विश्वकप छनोटमा ओमानलाई ९ विकेटले पराजित गर्दै नेपाल तेस्रो भएको छ ।

ओमानले दिएको ८८ रनको लक्ष्य १६ ओभर २ बलमा पूरा गर्दै नेपाल तेस्रो भएको हो । नेपालको जितका लागि ओपनर कुशल भुर्तेलले अर्धशतकीय इनिङ्स खेले ।

भुर्तेलले ५३ बलमा अविजित ५५ रन बनाउँदा आरिफ शेखले २७ बलमा अविजित २१ रन जोडे । आशिफ शेख १८ बलमा १३ रन बनाएर जीशन मक्सूदको बलमा मोहम्मद नदीमबाट क्याचआउट भए ।

त्यसअघि ओमानको मस्कटस्थित अल अमिरात क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको ओमानले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा ८७ रन बनायो ।

उसका लागि कप्तान जिशन मक्सूदले २१, नशिम खुसीले १४ तथा खलिमुल्लाहले अविजित १४ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

नेपालका कप्तान सन्दीप लामिछानेले तीन तथा कमल ऐरी, आरिफ शेख, अभिनाश बोहरा र सागर ढकालले समान एक–एक विकेट लिए ।

खेलको प्लेयर अफ द म्याच कप्तान सन्दीप लामिछाने भए ।

सेमिफाइनलमा पराजित भएपछि अष्ट्रेलियामा हुने टी–ट्वेन्टी विश्वकपमा पुग्न असफल नेपालले ओमानलाई हराएर तेस्रो स्थान हासिल गरेको हो ।

मंगलबार भएको सेमिफाइनलमा नेपाल युएईसँग पराजित भएको थियो । जसको कारण नेपालको विश्वकप सपना सकिएको थियो । ओमान भने सेमिफाइनलमा आयरल्याण्डसँग पराजित भएको थियो ।