२७ फाल्गुन २०८१, मंगलबार | Wed Mar 12 2025


राजस्व चुहावटका ४७ मुद्दा


104
Shares

काठमाडौं । चालू आर्थिक वर्षको माघ मसान्तसम्म राजस्व चुहावटका ४७ वटा मुद्दा दर्ता भएका छन् । ७ महिनामा ५ अर्ब रुपैयाँको बिगो दाबी गर्दै ४७ वटा मुद्दा दर्ता गरिएको राजस्व अनुसन्धान विभागले जनाएको छ ।

विभागका अनुसार पुस मसान्तसम्ममा ४२ वटा मुद्दा दर्ता भएकोमा माघमा ५ वटा मुद्दा थपिएको हो । चालू आवको पहिलो ५ महिनामा भने विभागले राजस्व चुहावटका ३५ वटा मुद्दा दर्ता गरेको थियो । तथ्यांक हेर्दा पछिल्लो समय मुद्दाको संख्या घट्दै गएको छ ।

५० लाखभन्दा कम बिगो भएका मुद्दा अदालतमा दर्ता नहुने भएकाले मुद्दाको संख्या घटेको जस्तो देखिएको विभागका प्रवक्ता टंक प्रसाद पाण्डेयले बताए । विभागले मुद्दा दर्ता गरेपछि बाँकी काम अदालतले गर्ने उनले बताए ।

त्यस्तै, विदेशी विनिमयतर्फ ७ महिनामा ३४ वटा मुद्दा दर्ता भएका छन् । ती मुद्दामा ८ करोड रुपैयाँ बिगो दाबी गरिएको छ । राजस्व अनुसन्धान विभागले गत आर्थिक वर्ष २०७७-०७८ मा ३ सय १७ जना प्रतिवादीविरुद्ध १९ अर्ब ८१ करोड रुपैयाँ बराबरको बिगो कायम गर्दै ८४ वटा मुद्दा दर्ता गरेको थियो ।

यो समाचार आजको कारोबार दैनिकमा छ ।