२९ फाल्गुन २०८१, बिहिबार | Thu Mar 13 2025

प्रचण्डको फोनपछि धनगढीको कार्यक्रम रद्द गरेर काठमाडौं फर्कंदै माधव नेपाल

सत्ता गठबन्धनको भविष्य कांग्रेसको हातमा छ : नेपाल

7.969k
Shares

काठमाडौं । कैलालीको धनगढीमा आयोजित पार्टी कार्यक्रमहरुमा सहभागी हुन बिहीबार त्यसतर्फ जानुभएका नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल त्यहाँको कार्यक्रम रद्द गरेर आज शुक्रबार काठमाडौं फर्कंदै हुनुहुन्छ ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले फोन गरेपछि नेता नेपाल धनगढीमा आजका लागि तय भएको वुद्धिजिवी परिषद्को कार्यक्रम रद्द गरेर काठमाडौं फर्कन लाग्नुभएको हो ।

नेपालसँगै पर्यटनमन्त्री प्रेम आले र सांसद गरिमा शाह पनि फर्कन लागेको बुझिएको छ । काठमाडौं फर्कनु अघि धनगढीमा पत्रकारहरुसंग कुरा गर्दै नेता नेपालले सत्ता गठबन्धनको भविष्य नेपाली कांग्रेसको हातमा रहेको बताउनुभयो ।

‘आफ्नो पार्टी जस्तोसूकै चुनौतिको सामान गर्न तयार रहेको भन्दै उहाँले गठबन्धन कायम राख्ने वा तोड्ने भन्ने कांग्रेसको हातमा छ,’ उहाँले भन्नुभयो ।

एमसीसीका कारण नेपालको राजनीति र सत्ता गठबन्धन जटिल मोडमा पुगेको स्वीकार्दै नेता नेपालले एमसीसीमा आपत्तिजनक प्रावधानहरु रहेको र ती सच्याउनुपर्ने अडानमा दायाँबायाँ नहुने पनि स्पष्ट पार्नुभयो ।

अमेरिकाको धम्कीले थप आशंका जन्माएको भन्दै उहाँले अनुदानको नाममा बन्दी बन्न सकिन्न भन्नुभयो । तत्काल बाम गठबन्धनको सम्भावना नरहेको पनि उहाँले प्रष्ट पार्नुभयो ।