
बागलुङ । नेपालको एक मात्र शिकार आरक्ष ढोरपाटनमा यस वर्षको दोस्रो शिकारयाम सुरू भएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले यस यामका लागि नौ वटा नाउर र सात झारलको शिकार कोटा तोकेको छ । प्रतिस्पर्धाबाट शिकार गराउन विभागले गत बुधबार दरभाउपत्र आह्वान गरेको आरक्षका प्रमुख संरक्षण अधिकृत वीरेन्द्रप्रसाद कँडेलले जानकारी दिनुभयो ।
शिकार खेलाउन इच्छुक कम्पनीले १५ दिनभित्रमा विभागमा दरभाउपत्र बुझाउने छन् । बोलपत्रको प्रक्रियाबाट छानिएपछि मात्र कम्पनीले शिकारका लागि अनुज्ञापत्र पाउने प्रमुख संरक्षणअधिकृत कँडेलको भनाई छ ।
बोलपत्रको प्रक्रियाबाट छानिएपछि मात्र कम्पनीले शिकारका लागि अनुज्ञापत्र पाउने प्रमुख संरक्षण अधिकृत कँडेलको भनाइ छ ।
बोलपत्रमा हुने प्रतिष्पर्धापछि मात्र कम्पनीले पाउने शिकारको कोटा र दर थाहा हुन्छ । शिकार कम्पनी बीच बोलपत्रमा हुने प्रतिष्पर्धाका आधारमा शिकारको राजस्व दर घटबढ हुने गर्छ । आरक्षमा वर्षेनी दुई याममा नाउर र झारलको शिकार खुला हुन्छ । विभागले दुवै याममा गरी वर्षमा जम्मा २० नाउर र ११ झारलको शिकार कोटा निर्धारण गर्ने गर्छ ।
गत शिकार याममा नेपाल ट्राभल एक्पिडिशन, हिमालयन वाइल्ड लाइफ आउटफिटर, ट्र्याक एण्ड ट्रेल्र्स, हिमालयन सफारिज र ग्लोबल सफारिजले शिकार खेलाएको थियो । यसपालि पनि यिनै कम्पनीबीच प्रतिस्पर्धा हुने ग्लोबल सफारिज नेपालका प्रबन्ध निर्देशक शम्सेर पराजुलीले बताउनुभयो ।
माग बढी हुँदा भने सीमित कोटाका लागि प्रतिस्पर्धा बढ्छ र कम्पनी पनि बढी राजस्व तिर्न तयार हुन्छन् । तीन वर्षअघि (फागुन–वैशाख) को याममा एउटा नाउर शिकारको रु १३ लाख ५१ हजार र झारल शिकारको रु १३ लाख ५० हजारसम्म राजस्व बुझाउन कम्पनी तयार भएका थिए ।
वि.सं. २०३९ मा स्थापना भएको आरक्ष देशकै एक मात्र वैधानिक शिकार गन्तव्य हो । सिकार खेलाएर आरक्षले वर्षेनी करोडौँ राजस्व राज्यको ढुकुटीमा योगदान गर्दै आएको छ ।
व्यवस्थित शिकारका लागि आरक्षभित्र सुर्तिबाङ, फागुने, बार्से, सेङ, दोगाडी, घुस्तुङ र सुनदह गरी सात ‘ब्लग’ तोकिएको छ । शिकारका लागि रुस, अमेरिका, क्यानाडा, नर्वे, जर्मनीलगायत देशबाट तालिम प्राप्त शिकारी ढोरपाटन आउँछन् ।
प्रतिक्रिया दिनुहोस्