
बैतडी । नेपाली सेनाले दिएको रगतले बैतडीमा एक सुत्केरी मृत्यु हुनबाट जोगिएकी छिन् ।
जिल्ला अस्पताल बैतडीमा शल्यक्रिया गर्दा अत्यधिक रक्तश्राब भएकी सुर्नया गाउँपालिका–२ लिस्किटाकी २० वर्षीया सरस्वती पाण्डेलाई नेपाली सेनाले गरेको रक्तदानले बचाएको अस्पतालले जनाएको छ ।
सदरमुकामस्थित हनुमानध्वज गुल्ममा कार्यरत सेनाका अमल्दार बालकृष्ण विष्ट र प्युठ टिकाराम विकले एक/एक पिन्ट दिएको रगतले सुत्केरीको ज्यान जोगिएको हो ।
अस्पतालका सूचना अधिकारी हरिश पन्तले भन्नुभयो, ‘शल्यक्रियामार्फत बच्चा जन्माएकी सरस्वती शरीरमा रगतको कमी भई बेहोस भएपछि सेनालाई गुहारेका थियौै, सेनाले दिएको रगत सुत्केरीको ज्यान जोगाउन सफल भयौं ।’
अस्पतालले रगत आवश्यक परेको खबर गरेपछि तत्कालै रक्तदान गरिएको हनुमानध्वज गुल्मका गुल्मपति सेनानी खिलबहादुर रानाले बताउनुभयो । उहाँले भन्नुभयो, ‘अस्पतालले रगत आवश्यक परेमा हामीलाई सधैं खबर गर्ने गर्दछ, सेनाले दिएको रगतले धेरैको ज्यान जोगिएको छ ।’
बैतडीमा रक्तसञ्चार केन्द्र (ब्लड बैंक) नहुँदा रगतको आवश्यकता परेमा सेना र प्रहरीकै भर पर्नुपर्ने बाध्यता छ ।
प्रतिक्रिया दिनुहोस्