
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले आफू प्रधानमन्त्री हुँदा एमसीसी चाहियो भनेर अमेरिकालाई पत्र नलेखेको दाबी गर्नुभएको छ ।
नेकपा एससम्बद्ध जनसंगठनद्वारा आयोजित एमसीसीविरुद्ध खबरदारी सभामा नेता खनालले यस्तो बताउनुभएको हो ।
उहाँले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीप्रति लक्षित गर्दै प्रतिगामी शक्तिहरूले एमसीसी चाहियो भनेर झलनाथ खनालले भनेको आरोप लगाइरहेको जिकिर गर्नुभयो ।
एमाले अध्यक्ष ओलीले शुक्रबार पोखरामा आयोजित एक सभामा झलनाथ खनाल प्रधानमन्त्री हुँदा एमसीसी चाहियो भनेर पत्र लेखेको बताउनुभएको थियो ।
खनालले आफ्नो कार्यकालमा एमसीसीसँग कुनै कुरामा पत्र लेखेको डकुमेण्टहरू लिएर आउन पनि चुनौती दिनुभयो ।
खनालले छिमेकी राष्ट्रलाई रुष्ट बनाएर टाढाको मुलुकलाई रिझाउन खोजे त्योभन्दा ठूलो दुर्भाग्य नेपालका लागि अरु कुनै नहुने भन्दै युक्रेनको जस्तो हालत हुने चेतावनी दिनुभयो ।
छिमेकी देश चीन र भारतविरुद्ध नेपालमा कुनै पनि गतिविधि भए नेपालको अस्तित्वमाथि खतरा पैदा हुने उहाँको भनाइ थियो ।
खनालले अमेरिकाको दादागिरीको युग सकिएको भन्दै विना संशोधनको एमसीसी नेपाललाई नचाहिने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्