२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


ओली नेपाली राजनीतिको घाँडो, सत्तामा आए देशै सिध्याउँछन् : अध्यक्ष नेपाल


2.041k
Shares

काठमाडौं । सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले केपी ओली फेरि सत्तामा आए देश सिध्याउने गम्भीर आरोप लगाउनुभएको छ ।

शनिबार काठमाडौंमा आयोजित एकीकृत प्रगतिशील प्राध्यापक संगठन, नेपालको राष्ट्रिय सम्मेलनमा बोल्दै पूर्वप्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष नेपालले केपी ओली नेतृत्वको सरकारले नेपाललाई इण्डोप्यासेफिक रणनीतिको अंग बनाएर सिध्याउने काम गरेको भए पनि आफूहरूले बचाएको दाबी गर्नुभयो ।

ओली नेतृत्वको अघिल्लो सरकारका मन्त्री प्रदिप ज्ञवालीले अमेरिकामा गएर नेपाललाई इन्डो प्यासेफिक रणनीतिको अङ्ग बनाउने समझदारीमा हस्ताक्षर गरेको बताउँदै उहाँले आफूहरूको विरोधपछि अमेरिकाले समझदारी हटाएको खुलासा गर्नुभयो ।

फेरि ओली सत्तामा आए इन्डोप्यासेफिक रणनीतिको अङ्ग बनाएर नेपाललाई सिध्याउने आरोप लगाउँदै अध्यक्ष नेपालले त्यसो हुन नदिन पनि सत्तारुढ गठबन्धनलाई जोगाउन लागि परेको बताउनुभयो । ओलीले सभामुख अग्निप्रसादसापकोटालाई महाअभियोग लगाएर हटाउने अपराधपूर्ण सोच राखेको भन्दै अध्यक्ष नेपालले आक्रोश पोख्नुभयो ।

‘वामपन्थी र लोकतान्त्रिक शक्तिहरूको एउटा गठबन्धन अहिलेसम्म छ, के होला भोलि भन्ने सबैको मनमा कौतुहल चलिरहेको छ र कतिपयले त तुरुन्तै भत्काउनुपर्छ भनिराखेका छन्, सर्त राखेर,’ उहाँले भन्नुभयो, ‘सभामुखलाई सिध्याउनुपर्छ महाअभियोग लगाएर, मुन्टयाएर निकाल्नुपर्छ, माधव नेपालसहितको १४ जनालाई सिध्याइदिनुपर्छ, मुन्ट्याएर निकालिदिनुपर्छ, कस्तो अपराधपूर्ण चिन्तन ?’

उहाँले एमाले अध्यक्ष ओलीलाई नेपाली राजनीतिको घाँडोको संज्ञा समेत दिनुभयो ।

‘अनि यस्ता चिन्तन राख्ने मानिसहरू पानी मुनि लुकेर बसेका छन् भने पनि सिध्याउछु भनेर कराउँछन्,’ उहाँले थप्नुभयो, ‘यस्ता खालका तत्वहरु नेपाली समाजमा, राजनीतिमा कहाँबाट आए ? घाँडो भइदिए । यस्ता घाडोको विरुद्धमा हातेमालो गर्दै अगाडि बढन सक्ने हो भने मात्रै नेपाल सुरक्षित हुन सक्दछ ।’


अध्यक्ष नेपालले यथास्थितिमा एमसीसी संसदबाट पारित गर्ने पक्षमा आफ्नो पार्टी नरहेको पनि पटक–पटक दोहो¥याउनुभयो ।