२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


एमसीसी पारित गराउन साथ नदिए तत्काल छाड्न प्रचण्डलाई बाबुरामको आग्रह


208
Shares

काठमाडौं । सत्तासाझेदार जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले संसदबाट एमसीसी पारित गराउन साथ नदिने भए तत्काल सरकार छोड्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई आग्रह गर्नुभएको छ ।

पूर्वप्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष भट्टराईले संसदबाट एमसीसी पास गर्ने बेला आफूहरू बाहिरिने भनेर लटरपटर कुरा नगर्न पनि दाहाललाई चेतावनी दिनुभयो ।

उहाँले एमसीसी सम्झौता संसदमा रहेको कूल सदस्य संख्याको स्पष्ट बहुमतबाट पारित गर्न साथ नदिए माओवादी केन्द्र सरकारबाट बाहिरिनु पर्ने र त्यसको ठाउँका अर्को पार्टी आउने दावी समेत गर्नुभयो ।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष भट्टराईले सरकारमा बसेर तर मार्ने अनि बाहिरबाहिर राष्ट्रवादी भनेर भित्रभित्र राष्ट्रघात गर्न माओवादी केन्द्रले नपाउने बताउनुभयो । उहाँले आफूहरू संसदबाट स्पष्ट बहुमत पु¥याएर सो सम्झौता पारित गराउन लागि परेको बताउनुभयो ।

एमसीसी मुलुकको समृद्धि र विकासका लागि पनि नेपालले पारित गरेर जानुपर्ने भट्टराईको तर्क थियो । उहाँले एमसीसी पारित नभए नेपाल चीन, भारत र अमेरिकाको भूराजनीतिक चपेटामा पर्ने खतरासमेत औल्याउनुभयो ।

भट्टराईले नेपालले चीन, भारत र अमेरिकालगायतका सबै देशको सहयोग लिएर मुलुकको विकास, समृद्धि र दीगो शान्तिका लागि काम गर्नुपर्ने दोहोर्‍याउनुभयो । एमसीसी सम्झौंता आफ्ना लागि नभई राष्ट्रको हितमा भएकाले यसलाई पारित गर्न आफू लागि परेको उहाँको भनाइ छ ।