१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


पाँच थान रेडपाण्डाको छालासहित तीन जना पक्राउ


234
Shares

दाङ । दाङमा प्रहरीले प्रतिबन्धित वन्यजन्तु रेडपाण्डाको छालासहित तीन जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

भालुवाङ–प्यूठान सडक खण्डमा जाँचको क्रममा प्रतिबन्धित दुर्लभ वन्यजन्तु रेडपाण्डाको पाँच थान छाला बिक्रीका लागि रोल्पाबाट दाङ हुँदै काठमाडौं जान लागेको सूचनाका आधारमा शुक्रबार साँझ ७ बजे उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा रोल्पाको सुनिलस्मृति गाउँपालिका–७ का ३२ वर्षीय रामबहादुर थापा, लुङग्री गाउँपालिका–३ का २० वर्षीय रुपक खडका र सुनछहरी गाउँपालिका–७ का १९ वर्षीय रामकुमार पुन मगर रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी उपरीक्षक सुरेशप्रसाद काफ्लेले जानकारी दिनुभयो ।

पक्राउ परेकाहरूले हिमाली क्षेत्रबाट कसैसँग कारोबार गरि अन्यत्र लैजाँदै गरेको उहाँको भनाइ छ ।

बजारमा रेडपान्डाको छालाको मूल्य नभए पनि अवैध रूपमा यसको कारोबार हुने गरेको छ । पक्राउ परेका तीन जनालाई जिल्ला वन कार्यालयमा थप अनुसन्धान र कानुनी कारबाहीका लागि बुझाइने प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक मुकुन्दप्रसाद रिजालले बताउनुभयो ।