
काठमाडौं । सत्तारुढ नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले यथास्थितिमा एमसीसी संसदबाट पारित नहुने दाबी गर्नुभएको छ ।
पूर्वप्रधानमन्त्री समेतरहनु भएका खनालले सरकार छोड्ने विषयमा पार्टीभित्र कुनै छलफल नभएको पनि बताउनुभयो ।
शनिबार माओवादी केन्द्रका शीर्ष नेताहरूसँग छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले एमसीसीको मुद्दा कसरी टुंगिन्छ, सरकार छोडने वा नछोडने भन्ने विषय पनि त्यसैमा निर्भर रहने बताउनुभयो ।
खनालले एमसीसी पारित गराउने र सत्तारुढ गठबन्धन पनि टुट्न नदिने मध्यमार्गी बाटोबारे आफू अनविज्ञ रहेको प्रतिक्रिया दिनुभयो ।
उहाँले सो बाटोको बारेमा कुन–कुन नेताबीच छलफल भएको हो भन्ने पनि आफूलाई थाहा नभएको बताउनुभयो ।
खनालले राष्ट्रिय हित अनुकूल हुने गरी एमसीसी सम्झौता परिमार्जन भएमात्रै आफूहरूले त्यसलाई संसदबाट पारित गराउन साथ दिनसक्ने स्पष्ट पार्नुभयो ।
प्रतिक्रिया दिनुहोस्