
काठमाडौं । मच्छिन्द्र फुटबल क्लबले १३ खेलमा २ गोल मात्र खाएर सहिद स्मारक ‘ए’ डिभिजन लिगको उपाधि उचालेको छ ।
शनिबार दशरथ रंगशालामा भएको प्रतियोगिताको अन्तिम खेलमा एपीएफलार्ई पराजित गरेसँगै मच्छिन्द्रले १३ खेलमा ३५ अंकसहित दोस्रोपटक उपाधि उचालेको हो ।
मच्छिन्द्रले ११ खेलमा जित र दुई खेलमा बराबरी खेलेको थियो । उसले पहिलो खेलमा एनआरटीविरुद्ध गोल खाएको थियो भने अन्तिम खेलमा एपीएफविरुद्ध गोल खाएको हो ।
पहिलो खेल २–१ को जित निकालेको मच्छिन्द्रले अन्तिम खेल पनि २–१ कै जित निकालेको हो । यी दुई गोलबीचको अन्तर ११ सय ८८ मिनेट रहेको छ ।
शनिबारको खेलको ४१औं मिनेटमा अभिषेक गुरुङले गोल गर्दै मच्छिन्द्रलाई अग्रता दिलाए पनि दोस्रो हाफको ६९औं मिनेटमा प्रदीप लामाले गोल गर्दै एपीएफलाई बराबरीको अवस्थामा ल्याए ।
तर खेलको ८१औं मिनेटमा मच्छिन्द्रका रेजिन सुब्बाले गोल गर्दै लिगको सुखद अन्त्य गरे । त्यसपछि पनि एपीएफले थुप्रै गोल गर्ने अवसर पाए पनि गोलमा परिणत गर्न सकेन ।
मच्छिन्द्रले ११औं चरणमा नै सिजन जितिसकेको थियो । उसका लागि दुई खेल प्रतिष्ठाका लागि मात्र थिए ।
उपाधिसँगै मच्छिन्द्रले ७५ लाख रुपैयाँ, दोस्रो हुने त्रिभुवन आर्मी क्लबले ५० लाख र तेस्रो हुने न्यूरोड टीम एनआरटीले २५ लाख रुपैयाँ पाएको छ ।
प्लेयर अफ दि लिगको उपाधि मच्छिन्द्रका सुनिल बलले जितेका छन् । उपाधिसँगै उनले ३ लाख रुपैयाँ नगद पनि पाएका छन् ।
सातदोबाटो फुटबल क्लबले फेयर प्लेको अवार्ड पाउँदै दुई लाख रुपैयाँ पुरस्कार पाएको छ ।
यस्तै, त्रिभुवन आर्मी क्लबका दिनेश योञ्जन इमर्जिङ प्लेयर अफ दि टुर्नामेन्ट हुँदै १ लाख ५० हजार जित्न सफल भएका छन् ।
मच्छिन्द्रका गोलकिपर विशाल श्रेष्ठ उत्कृष्ट गोलकिपर हुँदै २ लाख रुपैयाँ पाएका छन् । उनले प्रतियोगिता अवधिभर जम्मा दुई खोल मात्र खाए ।
प्रतिक्रिया दिनुहोस्