
काठमाडौं । सत्तारुढ नेकपा (एकीकृत समाजवादी)ले एमसीसीको सम्बन्धमा उठेका आशंकाको निवारण व्याख्यात्मक घोषणाले गरेकाले अनुमोदनको पक्षमा उभिएको बताएको छ ।
मंगलबार पत्रकार सम्मेलन गर्दै एकीकृत समाजवादीले एमसीसीको सम्बन्धमा उब्जिएका आशंकाको निवारण अमेरिकाले गरेको र व्याख्यात्मक घोषणाले पनि यसबारेका भ्रमलाई स्पष्ट पारेकाले एमसीसी अनुमोदनको पक्षमा उभिएको जनाएको हो ।
अमेरिकाले एमसीसी सम्झौता इन्डोप्यासिफिक रणनीतिको हिस्सा नभएको स्पष्ट पारेसँगै एमसीसी अनुमोदन गरिएको अध्यक्ष माधवकुमार नेपालले बताउनुभयो । एमालेले एमसीसी सम्झौतालाई आफैंले संसदमा अगाडी बढाए पनि तत्कालिन प्रधानमन्त्री ओली र ओली नेतृत्वका मन्त्रीले यसबारेमा विवाद सिर्जना गरेको आरोप पनि लगाउनुभयो ।
एमसीसी सम्झौतासँगै संसदबाट पारित गरिएको व्याख्यात्मक घोषणाले कानूनी मान्यता पाउने उहाँको भनाइ छ । नेकपा (एमाले)को समेत सम्झौतामा औपचारिक विरोध नभएकाले सम्झौता दुई तिहाइभन्दा बढी मतले पारित भएको उहाँको दावी थियो ।
सम्झौता अनुमोदनपछि अमेरिका र छिमेकी राष्ट्र चीनबाट समेत सकारात्मक प्रतिक्रिया आएकोे उहाँको भनाइ छ । अमेरिकाका तत्कालिन राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपालका तत्कालीन प्रधानमन्त्री केपी ओलीलाई ट्रयापमा पारेर नेपाललाई चीन विरोधी क्रियाकलाप सञ्चालन गराउन खोजेको उहाँको दाबी छ ।
फरक प्रसङ्गमा अध्यक्ष नेपालले आफ्नो पार्टीको अस्तित्व समाप्त पार्न खोजिएको तर आफूहरूले चुड्कीको भरमा सबै षड्यन्त्र समाप्त पारिदिएको दाबी गर्नुभयो । फागुन १ गतेको षड्यन्त्र आफ्नो पार्टीको अस्तित्व समाप्त पार्ने भएको उहाँको भनाइ छ ।
आफूहरू सभामुख अग्निप्रसाद सापकोटाको राजीनामाको पक्षमा नरहेको स्पष्ट पार्नुभयो । सभामुखको पक्षमा एकीकृत समाजवादी दृढताको साथ उभिने उहाँको भनाइ छ । सभामुख सापकोटाले संसदको गरिमा र सांसदहरूको अधिकारको रक्षा गरेको भन्दै उहाँले सभामुखको राजीनामा गराउने कुरा नचिताउन चुनौती दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्