१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


स्थानीय निर्वाचनमा सत्तारुढ गठबन्धनबीच चुनावी तालमेल हुँदैन : प्रवक्ता डा. महत


1.95k
Shares

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले स्थानीय तह निर्वाचनमा सत्तारुढ गठबन्धनबीच चुनावी तालमेल नहुने संकेत गर्नुभएको छ ।

सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसका प्रवक्ता महतले सत्तारुढ दलहरूबीच स्थानीय तह निर्वाचनमा चुनावी तालमेल गरेर जाने अवस्था आफूले नदेखेको बताउनुभएको हो ।

‘स्थानीय निकायको निर्वाचनको आफ्नै विशिष्ट परिवेश र परिस्थिति छ,’ उहाँले भन्नुभयो, ‘केन्द्रिय नेतृत्वले नै सम्पूर्ण कुरा बाँडफाँड गर्नु अव्यवहारिक हुन्छ, विधानतः पनि त्यो सम्भव हुँदैन ।’

बुधबार सञ्चारकर्मीसँगकाे संक्षिप्त कुराकानीमा उहाँले स्थानीय आवश्यक्तालाई ध्यानमा राखेर स्थानीय तहको निर्वाचन सम्पन्न हुने भएकाले दलहरूले आ–आफ्नै ढंगले उम्मेदवारी दिने तर्क गर्नुभयो । तर, यस विषयमा सत्तारुढ दलभित्र भने कुनै छलफल भइनसकेको उहाँको स्पष्टिकरण छ ।

‘त्यसकारण स्थानीय आवश्यक्ताहरूलाई ध्यानमा राखेर पनि कतिपय ठाउँमा समझदारीहरू पनि हुन सक्दछ, कतिपय ठाउँहरूमा दलहरूले आफ्नो ढंगले गर्ने अवस्था पनि छ,’ उहाँले भन्नुभयो, ‘तर समग्रमा अहिले गठबन्धनमै जाने वा नजाने भन्ने विषयमा छलफल भइसकेको अवस्था छैन, आवश्यक्ताको सिद्धान्त र पार्टीलाई यसले कतिको फाईदा गर्छ भन्ने सिद्धान्तमा यो सम्पूर्ण कुरा निर्भर गर्छ ।’

प्रवक्ता महतले आवश्यक्ताको सिद्धान्त र आ–आफ्नै फाइदाको सिद्धान्तअनुसार स्थानीय तहको निर्वाचनमा दलहरू जुट्नुपर्ने अवस्था रहेको दोहोर्‍याउनुभयो । स्थानीय तहको निर्वाचन तोकिएको समयमा हुनेमा आफ्नो पार्टी विश्वस्त रहेको उल्लेख गर्दै उहाँले त्यसका लागि सरकार अघि बढिसकेको बताउनुभयो ।

प्रवक्ता महतले प्रमुख प्रतिपक्ष दल एमालेलाई सहमतिमा लिएर संसद सूचारु गराउन आफ्नो पार्टीले प्रयास जारी राख्ने पनि बताउनुभयो । उहाँले सभामुख अग्निप्रसाद सापकोटा र माधव नेपालसहितका १४ जना सांसदको विषय अदालतमा विचाराधीन मुद्दा भएकाले त्यसलाई छाडेर एमालेले संसद सूचारु गराउन पुनर्विचार गर्नुपर्ने धारणा समेत राख्नुभयो ।

चालु अधिवेशन अन्त्य गरेर आगामी बजेट अधिवेशनमा विपक्ष दलको सक्रिय सहभागिता आवश्यक भएकाले पनि एमालेलाई सहमतिमा ल्याएर संसद सुचारु गराउन आफ्नो पार्टीले प्रयास जारी उहाँको तर्क थियो ।

‘बजेट अधिवेशनमा सम्पूर्ण दलहरू खासगरी विपक्ष दलहरूको अनिवार्य सक्रिय सहभागिताबाट नै अघि बढ्दै टुंगो लगाउने कुरामा कांग्रेसको हो,’ उहाँले भन्नुभयो, ‘ त्यही अनुसार उहाँहरूलाई सहमतिमा ल्याउन प्रधानमन्त्री र पार्टीले कोसिस जारी राख्छ ।’

प्रवक्ता महतले एमालेलाई सहमतिमा ल्याएर संसद सूचारु गराउन प्रधानमन्त्री शेरबहादुर देउवा आफैंले संवादलाई निरन्तरता दिने बताउनुभयो ।