२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


प्रमुख दलहरूकै कारण वैदेशिक सम्बन्ध खल्बलिन पुग्यो : अध्यक्ष लिङ्देन


182
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले प्रमुख राजनीतिक दलहरूले वैदेशिक सम्बन्धलाई सत्तारोहणको सिढी बनाएका कारण वैदेशिक सम्बन्ध खल्बलिन पुगेको बताउनुभएको छ ।

बुधबार राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्य समितिको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले प्रमुख राजनीतिक दलहरूले वैदेशिक सम्बन्धलाई सत्तारोहण गर्ने सिढीको रूपमा प्रयोग गरेका कारण वैदेशिक सम्बन्ध खल्बलिन पुगेको बताउनुभयो ।

प्रमुख राजनीतिक दलहरूकै कारण नेपाल शक्ति राष्ट्रहरूको रणनीतिक प्रतिस्पर्धा स्थलको रूपमा परिणत भएको उहाँले बताउनुभयो । उहाँले दलहरूको सत्ता केन्द्रीत क्रियाकलापका कारण देश गम्भीर संकटतर्फ उन्मुख भएको बताउनुभयो ।

अध्यक्ष लिङ्देनले राज्यका प्रमुख तीन अङ्गका बीचमा हुनुपर्ने शक्ति नियन्त्रण र सन्तुलतको व्यवस्था ध्वस्त भएको उल्लेख गर्दै जनताले सरकार भएको अनुभूति गर्न नपाएको उल्लेख गर्नुभयो ।

अध्यक्ष लिङ्देनले देशको प्रमुख राजनीतिक दल र नेताप्रति जनताको विश्वास मर्दै गएको जिकिर गर्नुभयो । देशलाई कम्युनिष्ट र कांग्रेसको विकल्प आवश्यक भएको भन्दै उहाँले कम्युनिष्ट र कांग्रेसको विकल्प राप्रपा मात्रै भएको दाबी गर्नुभयो ।

राप्रपालाई आगामी दिनमा निर्णायक र अग्रणी शक्तिको रूपमा स्थापित गर्नु राष्ट्रिय आवश्यकता भएको उहाँको भनाइ छ । राप्रपाको केन्द्रीय कार्यसमिति बैठक बुधबारदेखि सुरु भएको छ ।

बैठकमा अध्यक्ष राजेन्द्र लिङ्देनले प्रस्तुत गर्नुभएको राजनीतिक प्रतिवेदन, उपाध्यक्ष एवम् सचिवालय प्रमुख हेमजंग गुरुङले प्रस्तुत गर्नुभएको सचिवालयसम्बन्धी प्रतिवेदन र महामन्त्री एवम स्थानीय तह निर्वाचन परिचालन समितिका संयोजक भुवन पाठकले प्रस्तुत गर्नुभएको आसन्न स्थानीय तहको निर्वाचनसम्बन्धी प्रतिवेदनमाथि छलफल प्रारम्भ भएको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिनुभयो ।

प्रवक्ता श्रेष्ठले केन्द्रीय कार्यसमितिको बैठक मूल रुपमा आसन्न स्थानीय तह निर्वाचनको तयारीमा केन्द्रीत हुने उल्लेख गर्नुभयो । बैठकले यसअघि केन्द्रीय पदाधिकारीको बैठकले गरेका सबै निर्णयहरुलाई अनुमोदन पनि गर्ने उहाँले जानकारी दिनुभयो ।

बैठक बिहीबार पनि बस्नेछ ।