१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


जुम्लाको सिञ्जा गाउँपालिकाभित्रका विद्यालयमा खस भाषाको पढाइ हुने


234
Shares

काठमाडौं । जुम्लाको सिञ्जा गाउँपालिकाले पालिकाभित्रका विद्यालयमा खस भाषामा पठनपाठन गर्ने भएको छ ।

गाउँपालिकाको नवौं गाउँसभाले पालिकाभित्रका २२ विद्यालयमा कक्षा १ देखि ३ सम्म खस भाषाको पढाइ प्रारम्भ गर्ने निर्णय गरेको गाउँपालिकाका प्रवक्ता नवीन शर्माले बताउनुभयो ।

खस भाषा यहाको पहिचान रहेको भन्दै उहाँले नेपाली भाषाको केन्द्रविन्दु मानिएको सिञ्जामा खस भाषाको पाठ्यक्रम बनाएर पढाइ प्रारम्भ हुनु सुःखद पक्ष रहेको उल्लेख गर्नुभयो ।

यहाँको आर्थिक, सामाजिक, सांस्कृतिक र पर्यटन क्षेत्रको बयान पनि खस भाषामै गर्ने गाउँपालिका शर्माले बताउनुभयो । खस भाषाको पाठ्यक्रम निर्माणले सिञ्जा क्षेत्रका स्थानीयवासी खुसी भएको गाउँपालिका अध्यक्ष देवलसिंह रावलले बताउनुभयो ।

नवौं गाउँसभाले १५ शैया अस्पताल निर्माणका लागि केन्द्र सरकारलाई आग्रह गर्ने, गाउँपालिकामा कार्यरत बालविकास केन्द्रका सहजकर्ताहरूको रोकिएको तलब निकासा गर्ने र तलब वृद्धि गर्ने निर्णयसमेत गरेको अध्यक्ष रावलले बताउनुभयो ।

गरिबीको अन्त्य गर्न कृषि उत्पादनको क्षेत्रलाई विशेष प्राथमिकतामा राखेर युवावर्गलाई कृषिमा आकर्षित गर्न र कृषिलाई आधुनिकीकरण गर्दै सहुलियत ऋणको व्यवस्था गर्ने नीति लिएर कार्यान्वयन भइसकेको गाउँपालिकाले जनाएको छ ।