६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


आज ग्याल्पो ल्होसार मनाइँदै


65
Shares

काठमाडौं । शेर्पालगायत उत्तरी हिमाली क्षेत्रमा बसोबास गर्ने समुदायले आज ग्याल्पो ल्होसार विभिन्न कार्यक्रम आयोजना गरी मनाउँदैछन् ।

भोट भाषाको दाथोक पात्रोअनुसार फागुन शुक्ल प्रतिपदाका दिनदेखि शेर्पा जातिको ल्होसार अर्थात् नयाँ वर्ष सुरु हुन्छ ।

ग्याल्पो ल्होसार भोटका नवौँ राजा उदे गुङ्गयालका पालादेखि वसन्त पर्वका नामले मनाउन सुरु गरिएको हो ।

विगतमा हिमाली क्षेत्रका १२ जिल्लामा मनाइने ग्याल्पो ल्होसार हाल २२ जिल्लामा मनाइन्छ ।

यस पर्वमा शेर्पा समुदायले आफ्नो गाउँघर, टोलमा रहेका बाटोघाटो तथा पानीका मूलहरूको सरसरफाइ गर्ने, नौ प्रकारको अन्न मिसाइएको परिकार गुथुक र खाप्से खाने तथा आपसमा शुभकामना आदानप्रदान गर्दै नयाँ वर्षको स्वागत गर्ने परम्परा छ।

आजैदेखि १५ दिनसम्म बुद्धले ऋद्धि शक्तिमाथि विजयी प्राप्त गरेको सम्झनामा विशेष कार्यक्रम गरी मनाइन्छ  । यस अवसरमा आज सरकारले सार्वजनिक बिदा दिएको छ  ।