
काठमाडौं । विवादै विवादको घेरामा परेको गैर आवासीय नेपाली संघ (एनआरएनए) केन्द्रीय समितिले शेष घले नेतृत्वको संरक्षक समिति र एनआरएनए उच्चस्तरीय समिति विघटन गरेको छ ।
एनआरएनएको ८२ औं बैठकले समिति विघटन गर्ने निर्णय गर्दै केन्द्रलाई सदस्यता शुल्क नबुझाउने अन्तर्राष्ट्रिय समन्वय परिषदमध्ये पाँच देशका राष्ट्रिय समिति पनि भंग गरी पुनर्गठन गर्ने निर्णय गरेको छ ।
सबैभन्दा धेरै सदस्य भएका अमेरिका, बेलायत, अष्ट्रेलिया, क्यानडा र जापानले शुल्क नतिरेको भन्दै पुनर्गठन गर्ने निर्णय गरेको हो । हाल एनआरएनएका करिब एक लाख सदस्य रहेकामा अमेरिकामा करिब २० हजार, अष्ट्रेलियामा करिब १५ हजार, बेलायतमा करिब १३ हजार, जापानमा करिब ५ हजार र क्यानाडामा झण्डै ४ हजार सदस्य छन् ।
एनआरएनए विवाद समाधान गर्न गठित उच्चस्तरीय समितिका सदस्य एवं संस्थापक अध्यक्ष डा.उपेन्द्र महतोले नै समितिबाट राजीनामा दिनुभएको छ । संयोजक शेष घलेले कमिटीमासमेत छलफल नगरी एकतर्फी सदस्यता फाइनल गरेपछि बहुमत संरक्षकले बैठक छाडेको बताइएको छ ।
घले नेतृत्वको उच्चस्तरीय समितिले एनआरएनए प्रतिनिधि विवाद समाधान गर्ने जिम्मेवारी पाए पनि सहमति बन्न नसकेको हो ।
अघिल्लो बैठकले प्रतिनिधि विवाद समाधान गर्न घलेको नेतृत्वमा पूर्वअध्यक्षहरू र वर्तमान अध्यक्ष कुमार पन्त तथा रामप्रताप थापा रहेको उच्चस्तरीय समिति बनाएको थियो ।
यसैबीच, बैठकले मार्चको २१ र २२ मा तोकिएको निर्वाचनको कार्यतालिका तलमाथि नगरी महाधिवेशन गर्ने निर्णय पनि गरेको छ । यो निर्णयले एनआरएनएमा विवाद झनै बल्झने स्थिति देखिएको छ ।
प्रतिक्रिया दिनुहोस्