१५ बैशाख २०८२, सोमबार | Tue Apr 29 2025


दिल्लीलाई हराउँदै खप्तड गोल्डकपमा मनाङको विजयी सुरुवात


468
Shares

कैलाली । मनाङ मर्स्याङ्दी क्लब पाँचौं मुख्यमन्त्री सुदुरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ ।

धनगढी रंगशालामा बिहीबार भएको उद्घाटन खेलमा भारतको दिल्ली फुटबल क्लबलाई २–१ गोल अन्तरले हराउँदै मनाङले सुखद सुरुवात गरेको हो । जितसँगै मनाङले सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ ।

मनाङलाई जित दिलाउन अन्जन विष्ट र विमल रानाले एक एक गोल गरे । दिल्लीका लागि कृष्णले एक गोल फर्काए । मनाङले एक गोलको अग्रता उल्टाएर जित निकालेको हो ।

खेलको ७१ औं मिनेटमा कृष्णले गोल गर्दै दिल्लीलाई सुरुवाती अग्रता दिलाएका थिए । तर, ८२औं मिनेटमा कप्तान अन्जनले गोल गर्दै मनाङलाई १–१ गोलको बराबरीमा ल्याए । त्यसपछि ८५औं मिनेटमा विमलले गोल गर्दै मनाङलाई २–१ को जित दिलाए ।

आयोजक सुदुरपश्चिम–११ स्पोर्टस क्लब धनगढीले आयोजना गरेको प्रतियोगितामा १० टिम सहभागी छन् । प्रतियोगिता अन्तर्गत शुक्रबार बागमती युथ क्लब र न्युरोड टिम एनआरटीबीच प्रतिस्पर्धा हुनेछ ।

सर्वोत्कृष्ट खेलाडीले मोटरसाईकल पाउनेछन् भने उत्कृष्ट गोलरक्षक, डिफेन्डर, फरवार्ड, सर्वाधिक गोलकर्ता र प्रशिक्षकसहित उदयमान खेलाडी र फेयर प्ले टिमले जनही नगद २५ हजार प्राप्त गर्नेछन् ।

प्रत्येक खेलको म्यान अफ द म्याचले १० हजार पाउने आयोजकले जनाएको छ ।