१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


युरोपको सबैभन्दा ठूलो परमाणु ऊर्जा प्लान्टमा रुसको कब्जा


2.197k
Shares

एजेन्सी । रुसी सैनिकले युक्रेनमा रहेको युरोपकै सबैभन्दा ठूलो परमाणु ऊर्जा प्लान्टमा कब्जा गरेको छ ।

युक्रेनी स्थानीय अधिकारीले सामाजिक सञ्जालमा लेख्दै रुसी सेनाले परमाणु ऊर्जा प्लान्टमा कब्जा गरेको पुष्टि गरेको हो । यद्यपि त्यहाँका कर्मचारीहरू सुरक्षित रहेको र आफ्नो काम निरन्तर गरिरहेको बताइएको छ ।

उक्त प्लान्टमा शुक्रबार विहानैदेखि आगो लागेको थियो । तर, जेपोरजिया परमाणु ऊर्जा प्लान्टको भित्री भागमा भने अहिलेसम्म क्षति नपुगेको स्थानीय अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएको छ । अहिले उक्त आगो निभाइसकिएको छ ।

यसअघि युक्रेनका राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले पनि ट्वीट गर्दै युरोपको सबैभन्दा ठूलो ऊर्जा प्लान्टमा रुसी सेनाले आक्रमण गरेको जानकारी दिनुभएको थियो । उहाँले मद्दतको लागि पनि आग्रह गर्नुभएको थियो ।

युक्रेनको परमाणु ऊर्जा अपरेटर एनरगोटामका अनुसार सन् १९८४ बाट सञ्चालनमा आएको जेपोरजिया परमाणु ऊर्जा प्लान्टबाट युक्रेनको कुल विद्युत् उत्पादनको २० प्रतिशत विद्युत् उत्पादन हुने गरेको छ । यस प्लान्टबाट कुल ५७०० मेगावट विद्युत् उत्पादन हुने बताइएको छ ।

रुसले यसअघि युक्रेनको राजधानी कीवबाट १ सय किलोमिटर टाढा रहेको चेर्नोबिल प्लान्टमा भने यसअघि नै कब्जा गरिसकेको छ ।