
काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिले आफ्नो २१औं वार्षिक प्रतिवेदन २०७८ (मस्यौदा) पारित गरेको छ ।
शुक्रबार सिंहदरबारमा बसेको समितिको बैठकले २१औं वार्षिक प्रतिवेदन २०७८ (मस्यौदा) समितिबाट पारित गरेको हो ।
समितिको बैठकपछि बोल्दै समितिका सचिव डा. रोजनाथ पाण्डेले समितिले गरेका काम कारबाहीहरूको वार्षिक प्रतिवेदन सदनमा पेश गर्ने उद्देश्यले मस्यौदा प्रतिवेदन पारित गरिएको जानकारी दिनुभयो ।
सचिव पाण्डेले प्रतिवेदनमा नौ वटा उपसमितिहरूले गरेका बेरुजु फछ्यौटका कामहरू समावेश गरिएको बताउनुभयो ।
प्रतिवेदनमा समितिले समसामयिक विषयहरूमा गरेका निर्णयहरू, गण्डकी प्रदेशको कालीगण्डकी करिडोरलगायत त्यस आसपासमा रहेका राष्ट्रिय गौरवका आयोजनाहरूको निरीक्षणलगायतका विषय समावेश भएको उहाँको भनाइ छ ।
सचिव पाण्डेले समितिको उक्त प्रतिवेदन अनुमोदनका लागि सदनमा पेश गर्नका लागि प्रस्ताव गर्ने पनि बताउनुभयो ।
उहाँले फास्ट ट्रयाकसम्बन्धी प्रतिवेदन यसअघिकै प्रतिवेदनमा संलग्न भइसकेको र पछिल्लो समय नेपाली सेनाले पुनः विचारको लागि रक्षा मन्त्रालयमा अनुरोध गरेकोले अहिले उक्त प्रतिवेदन समितिमा विचारधीन अवस्थामा रहेको पनि जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्