
काठमाडौं । एम्नेष्टी इन्टरनेशनल नेपालका पूर्वअध्यक्ष राजन कुईंकेलले मानव अधिकारको कालो धब्बा बोकेका देशहरू रुसको पक्षमा उभिएको बताउनुभएको छ ।
युक्रेनमाथि रुसले गरिरहेको बर्बर आक्रमण रोक्न काठमाडौंस्थित रुसी दूतावास अगाडि भएको प्रदर्शनमा पूर्वअध्यक्ष कुईंकेलले आफूहरू शान्तिको पक्षमा रहेको भन्दै संयुक्त राष्ट्रसंघको महासभामा मानवअधिकारको कालो धब्बा लागेका देशहरू रुसको पक्षमा उभिएको बताउनुभयो ।
‘संयुक्त राष्ट्रसंघको महासभामा कस्ता–कस्ता मुलुकहरू युक्रेन र रुसको पक्षमा उभिए,’ उहाँले भन्नुभयो, ‘वर्षौंदेखि मानिसहरू मारिरहेको र मानवअधिकारको कालो धब्बा लागेका सिरियाजस्ता मुलुकहरू रुसको पक्षमा उभिएका छन् ।’
नेपालसहितका १ सय ४९ मुलुकहरू शान्तिको पक्षधरता जनाउन उभिएको स्मरण गर्दै पूर्वअध्यक्ष कुईंकेलले आफूहरू शान्ति र माधवअधिकारको पक्षमा रहेर विश्वभरका युद्धको भर्त्सना गर्ने बताउनुभयो ।
ठूला मुलुकले साना मुलुकलाई चेप्ने र हेप्ने प्रवृत्तिको पनि आफूहरूले भर्त्सना गरिरहने भन्दै उहाँले रुससँग तत्काल युक्रेनमाथिको सैन्य आक्रमण बन्द गर्न माग गर्नुभयाे ।
प्रतिक्रिया दिनुहोस्