२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


एमसीसीको विषयमा उपाय निस्कन सक्थ्यो, हतार गरियो : देव गुरुङ


611
Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का नेता देव गुरुङले एमसीसी अनुमोदन गर्न हतार गरिएको टिप्पणी गर्नुभएको छ ।

शुक्रबार बसेको पार्टीको केन्द्रीय कमिटी बैठकपछि सञ्चारकर्मीहरूसँग नेता गुरुङले एमसीसी सम्झौता गर्ने समयमा पनि ख्याल नगरिएको र अनुमोदनको समयमा पनि हतार गरिएको बताउनुभयो ।

‘सम्झौता गरेर प्रक्रियामा आइसकेपछि उपाय खोज्ने क्रममा हतार गरियो, विकल्पहरू निस्कन सक्थ्यो,’ उहाँले भन्नुभयो, ‘संशोधन गरेर लैजान सकिन्थ्यो कि विलम्ब गरे लैजाने उपायहरू हुनसक्थ्यो, हतारोमा व्याख्यात्मक घोषणामा जाँदा उपयुक्त भएन कि !’

नेता गुरुङले पार्टीमा एमसीसीको सन्दर्भमा फरक मत भएको स्वीकार गर्दै उहाँले अध्यक्ष पुष्पकमल दाहाल र नेता नारायणकाजी श्रेष्ठबीचमा पनि पार्टीलार्ई एकताबद्ध बनाएर लैजाने विषयमा सहमति जुटेको जानकारी दिनुभयो । व्यक्तिगत भन्दा पनि नीतिगत विषयमा बैठकमा दुई नेताबीच कुराकानी भएको उहाँको भनाइ छ ।

‘पार्टीभित्र विषयगत रूपमा उठेका मतभेदलार्ई विभिन्न समयमा सहमतिमार्फत अघि बढ्नुपर्छ भन्ने विषयमा नेताहरूबीच एकमत छ,’ उहाँले भन्नुभयो, ‘दुई जनाको अभिव्यक्तिबाट पार्टी एकतामा कसैले पनि दुईमत नगरे हुन्छ ।’

पत्रकार सम्मेलनमा पार्टी छोडेर गए हुन्छ भन्नेजस्ता सवाल उठेको सन्दर्भमा अध्यक्ष दाहालले आफू इरिटेड भएर भनेको बताउनुभएको थियो । अध्यक्ष दाहाललाई उद्धृत गर्दै नेता गुरुङले भन्नुभयो, ‘पत्रकारहरूको प्रश्न सोधेपछि इरिटेड भएर भनेको हुनसक्छु, त्यसमा समीक्षा गर्न सकिन्छ, ठूलो कुरा होइन ।’

पार्टीले अन्य पदाधिकारी टुंगो लगाउनका लागि शनिबार गृहकार्य गरिने र आइतबार पार्टीले पूर्णता पाउने नेता गुरुङले जानकारी दिनुभयो । पार्टीको बैठका आइतबार दिउँसो १ बजेका लागि बोलाइएको छ ।