२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


नारायणकाजीलाई प्रचण्डको सान्त्वना, ‘पत्रकारको प्रश्नले ‘इरिटेड’ भएको हुनसक्छु, समीक्षा गरौंला’


1.287k
Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पत्रकारले प्रश्नले आफू इरिटेड (दिक्क) भएको बताउनुभएको छ ।

आठौं महाधिवेशनपछि पहिलो पटक शुक्रबार बसेको पार्टीको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष दाहालले पत्रकारको प्रश्नले इरिटेड (दिक्क) भएर पार्टी छोडेर गए हुन्छ जस्तो अभिव्यक्ति बोलेको बताउनुभयो ।

बैठकपछि सञ्चारकर्मीमाझ अध्यक्ष दाहाललाई उद्धृत गर्दै नेता गुरुङले भन्नुभयो, ‘पत्रकारहरूको प्रश्न सोधेपछि इरिटेड भएर भनेको हुनसक्छु, त्यसमा समीक्षा गर्न सकिन्छ, ठूलो कुरा होइन ।’

नेता गुरुङले पार्टीमा एमसीसीको सन्दर्भमा फरक मत भएको स्वीकार गर्दै उहाँले अध्यक्ष पुष्पकमल दाहाल र नेता नारायणकाजी श्रेष्ठबीचमा पनि पार्टीलार्ई एकताबद्ध बनाएर लैजाने विषयमा सहमति जुटेको जानकारी दिनुभयो ।

व्यक्तिगत भन्दा पनि नीतिगत विषयमा बैठकमा दुई नेताबीच कुराकानी भएको नेता गुरुङले बताउनुभयो । दुई नेताबीच खुलस्त कुराकानी भएको र अझै केही विषयहरू बाँकी नै रहेको भन्दै उहाँले ती विषयहरूमा शनिबार आन्तरिक छलफल हुने जानकारी दिनुभयो ।

‘पार्टीभित्र विषयगत रूपमा उठेका मतभेदलाई विभिन्न समयमा सहमतिमार्फत अघि बढ्नुपर्छ भन्ने विषयमा नेताहरूबीच एकमत छ,’ उहाँले भन्नुभयो, ‘दुई जनाको अभिव्यक्तिबाट पार्टी एकतामा कसैले पनि दुईमत नगरे हुन्छ ।’

गत सोमबार एमसीसीबारे पार्टीको धारणा सार्वजनिक गर्न आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष दाहालले महाकाली सन्धीको स्मरण गर्दै फरक मत राख्नेको अवस्था वामदेव गौतमको जस्तो हुने बताउनुभएको थियो । उहाँले फरक मत राख्नेहरू पार्टीबाट अलग्गिनसक्ने किसिमको अभिव्यक्ति दिनुभएको थियो ।

महाकाली सन्धी संसदबाट पारित भएको बेलामा नेकपा (एमाले)बाट वामदेव गौतमसहितको नेताहरू बाहिरिएर नेकपा (माले) पार्टी गठन गरेका थिए । तर, आवधिक निर्वाचनमा उहाँको पार्टीले एक स्थानमा पनि जित्न सकेको थिएन ।

अध्यक्ष दाहालको यस्तो अभिव्यक्तिपछि नारायणकाजी श्रेष्ठले पार्टीबाट अलग्गिन लागेको जस्तो चर्चा चलेको थियो । श्रेष्ठले राजनीतिक भेटघाटलाई पनि तीव्रता दिनुका साथै एमसीसीको विषयमा फरक धारणा राख्दै आउनुभएको थियो ।

यद्यपि बिहीबार साँझ भने सामाजिक सञ्जालमार्फत आफू र अध्यक्षबीच छलफल चलिरहेको बताउँदै पार्टी विभाजन हुने विषयको खण्डन गर्नुभएको थियो । श्रेष्ठले खण्डन गरे पनि मन त पक्कै भाँचिएकै छ । भाँचिएको मनलाई सान्तवा दिन आत्मसमीक्षा गर्नु अध्यक्ष दाहालको नयाँ बानी भने होइन ।

यसअघि पनि अध्यक्ष दाहालले द्वन्द्वपीडित र पूर्वजनमुक्ति सेनाका अगाडि भाषण गर्दा कहिले साह्रै उत्तेजक त कहिले साह्रै भावुक अभिव्यक्ति दिइरहनुहुन्थ्यो ।

अन्य पदाधिकारी टुंगो लगाउन शनिबार गृहकार्य गर्ने आइतबार पार्टीले पूर्णता पाउने नेता गुरुङले जानकारी दिनुभयो । पार्टीको बैठक आइतबार दिउँसो १ बजेका लागि बोलाइएको छ ।