
बैतडी । पाटन प्रिमियर लिग(पीपीएल) क्रिकेटको उपाधि जर्गको कैलपाल क्रिकेट क्लबले हात पारेको छ ।
१ सय ७१ रनको विजयी लक्ष्य पछ्याएको आयोजक पाटन क्रिकेट क्लब निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ६६ रनमा समेटिएपछि कैलपाले ४ रनको जित निकाल्दै उपाधि उचालेको हो ।
पाटनका लागि पञ्कज चन्दले ५५ रनको योगदान गरे पनि हार टार्न सकेनन् । कैलपालका मुकेश चन्दले ३ विकेट हात पारे । उनी म्यान अफ द फाइनल समेत चुनिए ।
त्यसअघि श्रीकृष्ण माविको खेलमैदानमा टस जितेर ब्याटिङ रोजेको कैलपाल १८.३ ओभरमा १ सय ७० रनमा समेटियो । उसका लागि मुकेश चन्द र राजु भाटले सर्वाधिक २३–२३ रन बनाए । पाटनका दीपेन्द्र चन्दले ४ विकेट हात पारे ।
उपाधिसँगै कैलपालले ५५ हजार ५ सय ५५ र पाटनले २२ हजार २ सय २२ रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पायो । सर्वोत्कृष्ट खेलाडी र बेस्ट ब्याट्सम्यान पाटनका विकास विष्ट भए ।
पाटनकै दीपेन्द्र चन्द बेस्ट बलर भए । सर्वोत्कृष्टले ३ हजार ३ सय ३३ तथा बेस्ट बलर र बेस्ट ब्याट्सम्यानले समान १ हजार १ सय ११ नगदसहित ट्रफी मेडल र प्रमाणपत्र पाए ।
प्रतिक्रिया दिनुहोस्