
काठमाडौं । सहिद स्मारक ‘बी’ डिभिजन लिगमा झम्सीखेल युथ क्लब र सरस्वती युथ क्लबसँग अंक बाँड्दा मध्यपुर युथ एसोसियनले सामाजिक युथ क्लबलाई पराजित गरेको छ ।
शुक्रबार ललितपुर स्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयको मैदानमा सम्पन्न दिनको दोस्रो खेलमा सरस्वतीले झम्सीखेलसँग १–१ गोलको बराबरी खेलेर अंक बाँडेको हो । सरस्वतीले पहिलो हाफमा लिएको अग्रतालाई जोगाउन असफल रह्यो ।
सन्जीब रानाले २२औं मिनेटमा गोलकिपर र डिफेन्डरलाई बिट गर्दै टोलीलाई सुरुआती अग्रता दिलाएका थिए । तर पहिलो हाफको इन्जुरी समयमा तीर्थ बहादुर बस्नेतले गोल गरेपछि खेल बराबरीमा आएको थियो ।
दोस्रो हाफमा गोलका लागि दुबै टोली आक्रामक खेल खेले पनि थप गोल हुन सकेन र अंक बाँडे । बराबरीसँगै सरस्वतीले ‘बी’ डिभिजन लिगमा लगातार दोस्रो जितबाट बञ्चित भएको छ । दुई खेलबाट सरस्वतीको अंक तालिकामा ४ अंक भएको छ ।
झम्सीखेल युथ क्लबले अंक तालिकामा पहिलो अंक लिन सफल भएको छ । सरस्वतीले पहिलो खेलमा बाँसबारी क्लबलाई ३–१ गोलले हराउँदै सुखद सुरुआत गरेको थियो भने झम्सीखेलले श्री भगवतीलाई ३–१ को नतिजा सुम्पिएको थियो ।
शुक्रबारै सम्पन्न दिनको पहिलो खेलमा मध्यपुर युथ एसोसियनले समाजिक युथ क्लबलाई ५–२ गोल अन्तरले हराउँदै लिगमा विजयी सुरुआत गरेको हो । प्रतिस्पर्धात्मक बनेको खेलमा मध्यपुरले चौथो मिनेटमा अग्रता लिएको थियो ।
सन्नी लामाले गोल गर्दै मध्यपुरले सुरुआती अग्रता लिएको थियो । त्यसको चार मिनेट पछि सन्जीब थापा मगरले टोलीका लागि दोस्रो गोल गर्दा १६औं मिनेटमा सामाजिक युथ क्लबका लागि बिकास दर्जीले गोल गर्दै अन्तर घटाउँदै टोलीलाई खेलमा फर्किने संकते दिएका थिए ।
त्यसपछि २१औं मिनेटमा बसन्त बहादुर रानाले गोल गर्दै खेल २–२ को अवस्थामा ल्याए पनि पहिलो हाफको इन्जुरी समयमा सन्जीबले व्यक्तिगत दोस्रो गोल गर्दै मध्यपुरलाई पहिलो हाफमा ३–२ को अग्रता दिलाए ।
पहिलो हाफमा लिएको अग्रतालाई कायम राख्दै मध्यपुरले समाजिकलाई दबाबमा राख्यो । ५४औं मिनेटमा धिरज श्रेष्ठले गोल टोलीको अग्रता ४–२ मा पु¥याउँदा ७४औं मिनेटमा जेनिस राजपतीले टोलीका लागि पाँचौ गोल थप्र्दै जित निश्चित गरे । जितसँगै मध्यपुरले सहिद स्मारक बी डिभजिन लिगमा विजयी सुरुआत गर्दा समाजिक युथ क्लबले हारबाट लिग आरम्भ गरेको छ ।
लिगमा शनिबार तीन खेल हुनेछन् । पहिलो खेल श्री भगवती र ब्वाईज युनियन, दोस्रो खेल बाँसबारी र टुसाल युथ क्लब तथा तेस्रो खेल बिरगञ्ज युनाईटेड र नयाँबस्ती युथ क्लबबीच हुनेछन् । तीन वटै खेल एन्फा मुख्यालयको कृत्रिम मैदानमा हुनेछन् ।
१४ क्लबबीच भएको प्रतिस्पर्धा सिंगल राउण्ड रोबिन लिगको आधारमा भइरेको छ । शीर्ष दुई टोेली ए डिभिजन लिगमा बढुवा हुनेछ । यस्तै पुछारका दुई टोली रेलिगेसनमा पर्ने छन् ।
प्रतिक्रिया दिनुहोस्