६ बैशाख २०८२, शनिबार | Sun Apr 20 2025


बागलुङका किसान तोरी खेतीमा आकर्षित


91
Shares

काठमाडौं । बागलुङका किसानहरु तोरी खेतीमा आकर्षित भएका छन् । बागलुङ मुला खेतीका लागि प्रख्यात मानिए पनि बजार अभावका कारण यहाँका किसानले मुलाको बीउ उत्पादन रोकेर तोरी खेतीमा लागेका हुन् ।

बीउ उत्पादनका लागि प्रसिद्ध मानिएको बागलुङको जैमिनी कुश्मिसेराका किसानले मुलाको बीउ उत्पादन रोकेका हुन् ।

२६ वर्ष अघिदेखि मुलाको बीउ उत्पादनमा अब्बल मानिएको कुश्मिसेराको टारमा किसानले मुलाको विकल्पमा तोरी लगाउन थालेका छन् ।

कतिपय किसानले हिउँदमा खेतबारी बाँझै राख्न थालेको जनाएका छन् । कोही वर्ष अगाडिसम्म मुलाको बीउ घर घरबाटै बिक्री हुने गरेकाले यहाँका किसानले राम्रो मुल्य पाउने गरेका थिए ।

आज भोलि उनीहरुले उत्पादन गरेको मूलाको बिउ बिक्न छाडेको किसानहरुको दुःखेसो छ । ६ हजार के.जी‍.सम्म बीउ फल्ने कुश्मिसेरामा अहिले ६–७ के.जी. पाउन पनि मुस्किल पर्न थालेको छ ।

धान भित्र्याएपछि लगाएको मुलाले चैतमा उत्पादन दिने गरेको थियो । मुलाको उत्पादन घटेपछि किसानहरुले वैकल्पिक रुपमा तोरी खेती गर्न थालेका हुन् ।