३ बैशाख २०८२, बुधबार | Wed Apr 16 2025


बस्ती नै जोखिममा परेपछि हटाइँदै पल्सुङ ओढार, १ करोड खर्च लाग्ने


6.786k
Shares

काठमाडौं । नुवाकोटको दुप्चेश्वर गाउँपालिका–१ घ्याङफेदीस्थित नेगीगाउँमा बस्तीमाथि रहेको ठूलोढुङ्गा (पल्सुङ ओढार)लाई नेपाली सेनाको जबरजङग गणले हटाउन सुरु गरेको छ ।

२०७२ को भूकम्पको कम्पनले डगमगाएको ढुंगा हरेक वर्ष स्थान छाडेर बग्न थालेसँगैँ त्यसलाई सेनाले विस्फोटक पदार्थ प्रयोग गरेर हटाउन सुरु गरेको हो । ढुंगाले बस्तीमा जोखिम पुर्‍याएसँगै स्थानीयवासीको आग्रहमा दुप्चेश्वर गाउँपालिकाले जिल्ला विपद् व्यवस्थापन समितिमा ढुङ्गा हटाइदिन अनुरोधपछि शनिबारदेखि काम सुरु गरिएको छ ।

उक्त ढुङ्गाले नेगीगाउँका ४७ घरधुरीसहित एक आधारभूत विद्यालय जोखिममा परेको प्राविधिक प्रतिवेदनका आधारमा हटाउन थालेको सेनाले जनाएको छ । गत सोमबारदेखि प्राविधिक टोली पुगे पनि आवश्यक उपकरण हेलिकप्टरमार्फत बुधबार त्यहाँ पुराएसँगै ढुङ्गा फुटाउने पहिलो विस्फोट शनिबार गरिएको हो ।

एक सय जना सैनिकलाई सो ढुंगा हटाउन दुई महिना लाग्ने अनुमान गरिएको छ । विस्फोटक पदार्थको खरिद, ढुवानी, जनशक्ति र जोखिम बस्तीका बासिन्दालाई स्थान्तरणका लागि एक करोड खर्च लाग्ने बताइएको छ । उक्त ढुंगालाई स्थानीय तामाङ समुदायले पल्सुङ ओढार भन्ने गरेका छन् ।