२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


बी डिभिजन लिग : बाँसबारी र टुसाल तथा वीरगञ्ज र नयाँबस्ती बराबरी हुँदा श्री भगवतीको जित


65
Shares

काठमाडौं । पहिलो खेलमा सरस्वती युथ क्लबसँग ३–१ ले पराजित भएको बाँसबारी युथ क्लब सहिद स्मारक बी डिभिजन लिग फुटबलमा शनिबार टुसाल युथ क्लबसँग बराबरीमा रोकिएको छ ।

ललितपुर स्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयको मैदानमा सम्पन्न दिनको दोस्रो खेलमा बाँसबारीले टुसाल युथ क्लबसँग गोलरहित बराबरी खेलेको हो ।

बाँसबारी र टुसालबीचको प्रतिस्पर्धात्मक खेलमा दुबै टोलीले पाएको सुनौला अवसरमा गोल गर्न चुकेका थिए । जुन नतिजाले दुबै टोली अंक बाँड्न बाध्य भए ।

बराबरीसँगै बाँसबारीले २ खेलमा १ अंक जोडेको छ । टुसालले पनि २ खेलमा १ अंक जोडेको छ । बाँसबारीले पहिलो खेलमा सरस्वतीलाई ३–१ को नतिजा सुम्पिएको थियो ।

बी डिभिजन अन्र्तगत शनिबारै सम्पन्न दिनको पहिलो खेलमा ब्वाईज युनियनले लिएको सुरुआती अग्रता जोगाउन नसक्दा श्री भगवतीलाई २–१ को नतिजा सुम्पिन बाध्य भएको हो । खेलको छैटौं मिनेटमा विनोद राईले गोल गर्दै ब्वाइज युनियनलाई सुरुआती अग्रता दिलाएका थिए ।

तर, २७ औं मिनेटमा ब्वाइज युनियनका कप्तान बिष्णु बहादुर सुनारले आत्मघाती गोल गरेपछि खेल पहिलो हाफमा १–१ को बराबरीमा सकिएको थियो । त्यसपछि प्रतिस्पर्धात्मक बनेको दोस्रो हाफ सकिन पाँच मिनेट बाँकी रहँदा अमित लामाले गोल गर्दै अग्रता उल्टाउँदा नतिजा भगवतीको पोल्टामा पर्‍यो ।

जितसँगै श्री भगवतीले २ खेलमा ६ अंक जोडेको छ । ब्वाइज युनियनले २ खेलमा ३ अंक जोडेको छ । यस अघि बीरगञ्ज युनाईटेडलाई हराउँदै ब्वाइज युनियनले लिगमा सुरुआत गरेको थियो ।

बी डिभिजन लिग फुटबल अन्तर्गत शनिबारै सम्पन्न वीरगञ्ज युनाईटेड र नयाँबस्ती युथ क्लबबीचको खेल पनि बराबरीमा सकियो । दुवै टोलीले २–२ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।

२४ औं मिनेटमा क्रिपकान्त महतो थारुले गोल गर्दै वीरगञ्जलाई सुरुआती अग्रता दिलाएका थिए । तर, खेलको ४५ औं मिनेटमा सुमन योंग्याले गोल गर्दै नयाँबस्तीलाई १–१ गोलको बराबरी ल्याएपछि थप रोमाञ्चक बनेको खेलको ६४ औं मिनेटमा जीवन मगरले गोल गर्दै नयाँबस्तीलाई २–१ को अग्रता दिलाए ।

त्यसपछि खेलको ८१ औं मिनेटमा विरगञ्जका विवेक चौधरीले गोल गरेपछि खेल २–२ गोलको बराबरीमा सकियो । यस बराबरीसँगै विरगंजले २ खेलमा १ अंक जोडेको छ । नयाँबस्तीले २ खेलमा २ अंक जोडेको छ ।

लिगमा आइतबार पनि तीन खेल हुनेछन् । दिनको पहिलो खेल चर्च ब्वाइज युनाइटेड र खुमलटार युथ क्लब, दोस्रो खेल श्री कुमारी क्लब र सामाजिक युथ क्लब तथा तेस्रो खेल रानीपोखरी कर्नर टिम (आरसिटी) र मध्यपुर युथ एसोसियनबीच प्रतिस्पर्धा हुनेछ ।

१४ क्लबबीच भएको प्रतिस्पर्धा सिंगल राउण्ड रोबिन लिगको आधारमा भइरेको छ । शीर्ष दुई टोेली ए डिभिजन लिगमा बढुवा हुनेछ । यस्तै पुछारका दुई टोली रेलिगेसनमा पर्ने छन् ।