२९ चैत्र २०८१, शुक्रबार | Fri Apr 11 2025

प्रहरीको कुटाइबाट सुर्खेतमा एक युवकको मृत्यु, छानविन समिति गठन

कुटपिटबाट घाइते दुई पीडित पनि प्रहरीकै नियन्त्रणमा

585
Shares

सुर्खेत । प्रहरीको कुटाइबाट एक युवकको मृत्यु भएपछि सुर्खेतमा सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा चार सदस्यीय छानविन समिति गठन गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालको अध्यक्षमा बसेको जिल्लास्थित सुरक्षा निकायहरूको बैठकले सहायक प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद पाण्डेको संयोजकत्वमा चार सदस्यीय छानविन समिति गठन गरिएको हो ।

समितिलाई घटनाको सत्यतथ्य छानबिन गरी प्रतिवेदन बुझाउन निर्देशन दिइएको छ ।

प्रशासनले घटनालाई लिएर जिल्लामा हुनसक्ने सम्भावित विरोध प्रदर्शनलाई नियन्त्रणका लागि पनि निर्देशन दिएको छ । प्रशासनले आफन्तहरूलाई छानबिनको वातावरण बनाइदिन आग्रह गरेको छ ।

शुक्रबार राति नेपालगञ्जबाट भे १ क ९२२ नम्बरको गाडीमा सुर्खेत आउँदै गरेका कालिकोट तिलागुफा नगरपालिकाका–३ का ३१ वर्षीय कृष्ण (मिनि) हमालको प्रहरी कुटाईबाट मृत्यु भएको हो ।

सुब्बाकुना प्रहरीको कुटाइबाट गम्भीर घाइते हमालको उपचारका लागि अस्पताल नपुर्याउँदै बाटैमा मृत्यु भएको सुर्खेत अस्पतालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

हमालको मृत्युपछि उनका आफन्तले वीरेन्द्रनगरका विभिन्न चोकहरूमा टायर बालेर प्रदर्शन गरेका थिए । प्रहरीको कुटाइबाट हमालको तल्लो पेट र अण्डाकोषमा चोट लागेको थियो ।

प्रहरीले गाडीको चालकसहित दुईजनालाई समेत कुटपिट गरेको पीडितले बताएका छन् । सोधपुछको बहानामा पीडितलाई नै प्रहरीले नियन्त्रणमा लिएर राखेको छ ।