
काठमाडौं । प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाअभियोग प्रस्ताव अध्ययन गर्न समिति गठन गर्ने निर्णय गरेको छ ।
प्रतिनिधिसभा बैठकअघि संघीय संसद् भवनमा बसेको कार्यव्यवस्थाको बैठकले ११ सदस्यीय महाअभियोग प्रस्ताव अध्ययन समिति गठन गर्ने निर्णय गरेको हो । निर्णयानुसार दलहरूले नाम दिएपछि आजको प्रतिनिधिसभा बैठकमा सभामुख अग्नि सापकोटाले समितिमा रहने सदस्यको नाम पढेर सुनाउनुहुने छ ।
समितिमा रहने व्यक्तिको नाम पठाउन प्रमुख प्रतिपक्षी नेकपा एमालेलाई पनि भनिएको छ । समितिमा लोकतान्त्रिक समाजवादी पार्टीले भने सांसद एकवाल मियाँलाई पठाउने निर्णय गरिसकेको छ । सत्तारुढ गठबन्धनका ९८ सांसदले १ फागुनमा जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गरेका थिए ।
प्रतिनिधि सभा नियमावली अनुसार प्रस्तावमाथि संसदमा सामान्य छलफलपछि महाअभियोग सिफारिस समितिमा पठाउनुपर्ने छ । ११ सदस्यीय समितिले आरोपबारे छानबिन गरी महाअभियोग सिफारिस गर्नसक्छ ।
त्यस्तो सिफारिस निर्णयार्थ पेस गर्दा एक चौथाई सदस्यले समर्थन गरेमा महाअभियोगको कारबाही प्रारम्भ हुन्छ ।
प्रतिक्रिया दिनुहोस्