
किरण थापा
सिन्धुपाल्चोक । मुलुकमा संघीयता सुरू भएयता पहिलो पटक निर्वाचित जनप्रतिनिधिको पहिलो कार्यकाल सकिनै लागेको छ ।
सिंहदरवारको अधिकार गाउँ –गाउँमा भन्ने नाराका साथ २०७४ मा स्थानीय तहको निर्वाचन भएको थियो । नारा अनुसार काम भने नभएको कतिपय स्थानीय तहका सर्वसाधारणको गुनासो छ । २०७४मा निर्वाचित स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल आगामी जेठमा सकिदैछ । सरकारले बैशाख ३० गते एकैचरणमा सम्पन्न गर्नेगरी स्थानीय तहको निर्वाचन घोषणा गरेको छ ।
यो पाँच वर्षको अवधिमा कतिपय स्थानीय तहले राम्रो काम गरेका छन् भने कतिपय स्थानीय तहबाट जनअपेक्षा अनुसार काम हुन नसकेको सम्वन्धित स्थानीय तहका नागरिकको गुनासो छ ।
कतिपय स्थानीयतहले उदाहरणीय काम गरेका छन् । नागरिकका आवश्यकता केही हदसम्म पूरा गरेका छन् । केही आवश्यकता पूरा हुने चरणमा रहेका छन् । त्यस्तै मध्येको एउटा हो, सिन्धुपाल्चोकको ईन्द्रावती गाउँपालिका ।
ईन्द्रावती गाउँपालिकाले आम नागरिकको भावना अनुसार योजना तथा परियोजना संचालन गरेको गाउँपालिकाका अध्यक्ष वंशलाल तामाङको दाबी छ । संघीयता पछि नागरिकले स्थानीय सरकारबाट घरदैलोको सरकारको आभाष भने पाएका तामाङ बताउनुहुन्छ ।
पालिकाले आम नागरिकको माग अनुसार योजनाबद्व तरिकाले बिकास निर्माणको काम गरेको अध्यक्ष तामाङको भनाई छ ।
पालिकाले हालसम्म सबै वडाका टोल –टोलमा मोटर बाटो खन्ने, स्तरोन्नति गर्ने र कालोपत्रे गर्ने काम गरिरहेको छ । हालसम्म पालिकाले वडा नम्बर १० को डौंठेडांडा गैंटारको ३ किलोमिटर बाटो कालोपत्रे गरिसकेको छ । यस्तै पालिकाको केन्द्र रहेको नवलपुरमा पनि १ किलोमिटर बाटो कालोपत्रेको काम भईरहेको छ । भृकुटीमार्ग अन्र्तर्गत सिपाघाट, ज्यामीरेमाने, नवलपुर, ओखरेनी मोटरबाटोको स्तरोन्नती गराई ग्राभेलीङ्गको काम अन्तिम चरणमा पुगेको छ ।
विद्युतीकरण अन्तर्गत गाउँपालिकाले पालिकालाई काठे पोल मुक्त गाउँपालिका घोषणाको अन्तिम तयारीमा रहेको छ । पालिकाको सबै स्थानमा विद्युत सेवाको पहुँच पुर्याई सबै ठाँउमा काठको पोल हटाँउदै फलामको पोलमा मात्र विद्युत सेवा उपलब्ध गराउने काममा ईन्द्रावती गाँउपालिकाले काम सकेको र घोषणाको अन्तिम तयारीमा रहेको प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद शर्माले जानकारी दिनुभयो ।
पालिकाभित्र बसोबास गर्ने करिव २८ हजार बढि नागरिकलाई स्वच्छ खानेपानि खाने वातावरण सृजना गर्नका लागि पालिकाका सबै घरधुरीमा एक घर, एक घारा अभियान अन्तर्गत सबै घरधुरीले खानेपानीको सुविधा पाउने भएका छन् । अहिले ईन्द्रावति बृहद खानेपानी आयोजनाको काम अन्तिम चरणमा पुगिसकेको छ ।
यस्तै स्वास्थ्य क्षेत्रमा पनि ईन्द्रावति गाउँपालिकाले उल्लेखनीय काम गरेको जनप्रतिनिधिको दाबी छ । गाउँपालिकाले खेलकुदको विकासका लागि सबै वडाहरूमा एक वडा एक खेल मैदानको अवधारणा ल्याई सबै वडावासीले आफ्नै वडाको मैदानमा खेल खेल्ने वातावरण सिर्जना भएको छ ।
गाउँमै सुविधासम्पन्न अस्पताल
ईन्द्रावती गाउँपालिकामा एउटा व्यवस्थित अस्पताल थिएन । अहिले भने २८ हजारभन्दा बढी जनसंख्या भएको ईन्द्रावतीका स्थानीयले स्वास्थ्य चौकीभन्दा माथिल्लो सेवा पाउन चौतारा या मेलम्ची, काभ्रेको धुलिखेल पुग्नुपर्ने बाध्यता हटेको छ ।
ईन्द्रावती गाउँपालिकाले चार वर्षपछि गाउँपालिका–४ कै नवलपुर बजारमा १५ शैयाको अस्पताल बनेपछि वर्षौपछि त्यो बाध्यता हटेको हो भने स्थानीय निकै उत्साहित भएका छन् ।
५ करोड ५१ लाख लगानीमा बनेको अस्पतालमा ३५ कोठा र १५ बेड छन् । जसमा ३० जना बिरामी राख्ने क्षमता छ ।
गाउँपालिकाको प्यागोडा शैलीमा बनेको आकर्षक भवन
पाँच वर्षको अन्तरालमा गाउँपालिकाले आफ्नै भवन बनाएको छ । सबैजसो पालिका भवन सामान्य या आधुनिक शैलीमा निर्माण गरिए÷गरिँदै भए पनि ईन्द्रावतीले भने पुरातात्विक प्यागोडा शैलीमा भवन बनाएको हो । सुनकोसी अर्थात् थाकन ह्युल्साले किराँतकालीन राज्यको इतिहास बोकेको छ । यसकारण पनि भवन बनाउँदा पुरानै शैली अपनाइएको इन्जिनियर राजाराम घोरासैनीले बताउनुभयो ।
घोरासैनीका अनुसार भवन ६ करोड ५१ लाख रुपैयाँ लागतमा बनेको हो ।
ईन्द्रावतीको प्रत्येक घरमा स्वच्छ र सफा खानेपानी पुर्याउने लक्ष्य
ईन्द्रावती गाउँपालिकामा खानेपानी समस्या दीर्घकालीन रुपमा समाधान गर्ने उद्देश्यले पालिकाको वडा नम्बर ४ देखी १२ सम्मका सबै बस्तीहरु समेटेर खानेपानी बितरण गर्न लागिएको छ । त्यसका लागि इन्द्रावती बृहद खानेपानी आयोजना सुरू भए पश्चात खानेपानीको समस्या समाधान हुने भएको हो ।
ईन्द्रावती बृहद खानेपानी आयोजनाको लागी संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना हेटौंडले टेण्डर आह्वान गरेर काम सुरू गरिसकेको छ । ईन्द्रावती बृहद खानेपानी आयोजना २० करोड भन्दा माथिको लगानीमा निर्माण कार्य सुरु भएको हो । घर–घरमा स्वच्छ र सफा खानेपानी पुर्याउने लक्ष्यका साथ एक घर एक धारा को अभियान नै सुरु भएको गाँउपालिकाका अध्यक्ष तामाङले जानकारी दिनुभयो ।
हाल खानेपानीको समस्या भोगिरहेका नागरिकलाई यो योजना वरदान सावित हुने स्थानियले बताँउदै आएका छन् । वडा नम्बर १ मा मुहान रहेको खानेपानी तल आफ्नो गाँउसम्म आउने भएपछी स्थानीयहरु खुसि भएको वडा नम्बर ५ का स्थानीय सुनील भट्टराईले बताउनुभयो ।
गाउँपालिकालाई ऐतिहासीक रूपमा चिनाउन भृकुटी पार्क
गाँउपालिकामा भुकम्प स्मारक र भृकुटी शान्ति पार्कको शिलान्यास भएको छ । गाँउपालिकालाई ऐतीहासिक रुपमा चिनाउनु नै गाउँपालिकाको पहिचान भएको अध्यक्ष तामाङ बताउनुहुन्छ । गाँउपालीकाले ऐतीहासिक रुपमा अघि सारेको योजनाहरुमा उपलब्ध श्रोतलाई मध्येनजर गर्दै काम गरीरहेको पनि अध्यक्ष तामाङले जानकारी दिनुभयो । पर्यटकीय स्थल अन्र्तगत पार्क बनाउन लागेको र थाकन ह्युल्साको रुपमा चिनिएको ठाँउलाई अब भृकुटी पार्कको रुपमा चिनाउन लागेको उहाँले बताउनुभयो ।
नेपाल चिनको दौत्य सम्बन्ध रहेको समयमा भृकुटीको विवाहमा यही बाटो प्रयोग गरेको किम्बदन्ती रहेको छ । सोही किम्बदन्तीको आधारमा हालसम्म भएका अभिलेखको आधारमा भृकुटी पार्क निर्माण हुन लागेको गाँउपालिकाले जानकारी दिएको छ ।
संस्कृती पर्यटन तथा नागरिक उड्डययन मन्त्रालयको ७० प्रतिशत र ईन्द्रावती गाउँपालिकाको ३० प्रतिशत लागतमा सो पार्क बन्न लागेको हो ।
भुकम्पबाट ज्यान गुमाएकाको सम्झनामा पार्क निर्माण
ईन्द्रावती गाउँपालिकामा भुकम्प स्मृती पार्क निर्माण भएको छ । भूकम्पमा परेर ज्यान गुमाएकाको नाममा उक्त पार्कको निर्माण गरिएको हो । गाउँपालिकाको नवलपुरमा पार्क निर्माण गरिएको छ । अध्यक्ष तामाङका अनुसार भूकम्पमा मृत्यु भएका गाउँपालिका भरका मानिसको नाम सो पार्कमा लेखिनेछ । गाउँपालिकाभर भूकम्पमा परी ५सय जनाले ज्यान गुमाएका थिए ।
प्रत्येक वडाको आफ्नै भवन, खेल क्षेत्रबाट गाउँपालिका लाई चिनाईने
हाल प्रत्येक वडाको आफ्नै भवन रहेको छ । खेल क्षेत्रबाट गाउँपालिकालाई चिनाउन रंगशाला निर्माण अन्तिम चरणमा पुगेको छ । पालिका भित्र एक वडा एक खेल मैदान समेत बनेको छ । बिद्यालय र अस्पतालको लागि आवश्यक जनशक्ति ब्यबस्थापन गरिएको पनि ईन्द्रावती गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाको सडक कालोपत्रेदेखी स्तरोन्नती
गाउँ पालिकाको हालसम्म वडा नम्बर १० मा सडक कालोपत्रे भएको छ । डौंठेडाँडा गैंटार मोटरबाटोको ३ किलोमिटर सडक कालोपत्रै भएको छ । त्यस्तै गाउँपालिका केन्द्र रहेको नवलपुर बजार वरिपरिको १ किलो मिटर सडक समेत कालोपत्रे गर्न लागिएको इन्जिनियर घोरासैनीले जानकारी दिनुभयो । पालिकाका सत्रै नागरिकलाई सहज यातायातको सुविधाका लागि काभे्रपलाञ्चोक जिल्लाको सीमाना सिपाघाटदेखी ओखरेनीसम्मको सडक स्तरोन्नती गरी ग्राभेलिङ्गको काम पनि भईरहेको छ ।
गाउँपालिकाले शिक्षा,स्वास्थ्य,सडक खानेपानी र स्थानीयको समस्यालाई ध्यान दिएर काम गरेको छ । गाउँपालिका क्षेत्रको विकासमा सबै जनप्रतिनिधि लागेका छन् ।

प्रतिक्रिया दिनुहोस्