
काठमाडौं । गैरआवासीय नेपाली संघ, एनआरएनएको विवाद चरमोत्कर्षमा पुगेको छ ।
एकले अर्को पक्षलाई निषेध र दोषारोपण गर्ने क्रम जारी छ । यसैक्रममा एनआरएनए अन्तर्राष्ट्रिय समितिले कारबाही गरेका संरक्षक परिषद् र उच्चस्तरीय समितिलाई पूर्ववत् काम गर्न अर्को पक्षले आग्रह गरेको छ । राष्ट्रिय समन्वय परिषद्, एनसीसीका अध्यक्षहरूले दुवै समितिलाई यथावत काम गर्न भनेका हुन् ।
गैरआवासीय नेपाली संघका पूर्वअध्यक्षहरू शेष घले र देवमान हिराचनले बोलाएको बैठकले चार बुँदे प्रस्ताव पारित गर्दै संरक्षक परिषद् र उच्चस्तरीय समितिलाई पूर्ववत् रुपमा काम गर्न आह्वान गरेको हो । बैठकमा गत वर्ष चुनाव भएका ६५ मध्ये ४५ भन्दा बढी एनसीसीका अध्यक्ष तथा पदाधिकारी सहभागी भएको दावी गरिएको छ ।
बैठकमा संघका पूर्वअध्यक्ष एवं प्रमुख संरक्षक डा. शेष घलेले एनसीसीलगायत सबैलाई एकताबद्ध र बलियो एनआरएनए बनाउन आग्रह गर्नुभयो । संस्थाभित्र भत्किएको एकता र सम्बन्धलाई फेरि पुनर्जीवन दिनुपर्ने भन्दै उहाँले संस्थालाई एकजुट गर्न आफूहरुले छिट्टै कदम चाल्ने उल्लेख गर्नुभयो ।
अर्का पूर्वअध्यक्ष देवमान हिराचनले संघको वर्तमान स्थिति अत्यन्तै चिन्तापूर्ण रहेको भन्दै व्यक्तिगत स्वार्थका लागि बनेको संस्था नभएकाले सबै मिलेर संस्थालाई बचाउनु पर्ने धारणा राख्नुभयो । संघका सल्लाहकार कुल आचार्यले अहिले सत्य र असत्यबीचको लडाइँ चलेको भन्दै उच्चस्तरीय समिति र संरक्षक परिषद् खारेजीको निर्णयले संस्थालाई विभाजनतर्फ धकेलेको टिप्पणी गर्नुभयो ।
एनसीसी अमेरिकाका अध्यक्ष बुद्धि सुवेदीले अन्तर्राष्ट्रिय समन्वय परिषद्को मार्च २ को बैठकले संरक्षक परिषद् तथा उच्चस्तरीय समिति भंग गर्न गरेको निर्णय विधान विपरीत भएको उल्लेख गर्नुभयो ।
एनसीसी जापान, अमेरिका, बेलायत, क्यानाडा र अष्ट्रेलियालाई शुल्क नतिरे भंग गर्ने भनी पत्राचार गरिएकोमा पनि उहाँको आपत्ति थियो ।
प्रतिक्रिया दिनुहोस्