
-दीपक घिमिरे/ईमेज:
भैरहवा, जेठ २८ । जिल्ला प्रशासन कार्यालय रुपन्देहीले राष्ट्रिय गानबाट कार्यालयको सेवा शुभारम्भ गर्न थालेको छ ।
कर्मचारीलाई समयमै कार्यालय उपस्थित गराई राष्ट्रिय गानको सम्मान र राष्ट्रिय भावना बढाउने उद्देश्यले राष्ट्रिय गानबाट सेवा सुरु गर्न थालिएको हो ।
केही दिनयता जिल्ला प्रशासन कार्यालय बुटबलमा बिहान दशबजे राष्ट्रिय गान घन्किन्छ अनि मात्र कार्यालयको काम सुरु हुन्छ ।
प्रमुख जिल्ला अधिकारी कर्मचारी र सेवाग्राही समेत राष्ट्रिय गानमा सरिक भएपछि मात्र आ–आफ्ना काममा जाने गर्छन् ।
राष्ट्रप्रतिको सम्मान र राष्ट्रिय भावना झल्काउने राष्ट्रिय गानले कार्यालयमा छुट्टै रौनक थप्ने गरेको छ । त्यस्तै कार्यालयले सेवाग्राहीले पाउने सेवासुविधा पनि थपेको छ ।
सेवाग्राहीहरुका लागि प्रतीक्षा कक्षमा टेलिभजिन, फ्रि वाइफाई, खानेपानी, पंखा सुविधा उपलब्ध गराएको छ । सेवाग्राहीलाई मध्यनजर गरी दिएका सुविधाले थोरै भएपनि उनीहरुले राहतको सास फेरेका छन् ।
कर्मचारी र सेवाग्राहीमा अनुशासन तथा राष्ट्रिय भावना अभिवृद्धि गर्न राष्ट्र गानबाट सेवा सुरु गरिएको प्रमुख जिल्ला अधिकारी उदय राना बताउँछन् ।
जिल्ला प्रशसान कार्यालयले राष्ट्रिय गानबाट कार्यालयमा सेवा दिन थालेको कार्य स्वागतयोग्य रहेको समाजसेवी र बौद्धिक वर्गको टिप्पणी छ ।
कर्मचारीहरु राजनीतिक पार्टीको झन्डा मुनी बसेर सेवाग्राहीलाई विभेद गर्ने प्रवृत्ति रहेको र उनीहरुमा राष्ट्रिय भावना भरिएको गानले विभेदको सोंच हटाउने साहित्यकार विजय सागर श्रेष्ठको भनाइ छ ।
कार्यालय र कर्मचारी सबैका साझा भएकाले निष्पक्ष रुपमा सेवा दिनुपर्छ । यो काम पर्याप्त नभएपनि असल सुरुवातको संकेत भने देखिएको छ ।
जनमैत्री र विभेदरहित सेवा सञ्चालनमा सहयोग पुर्याउने सरकारी कार्यालय केन्द्रित हुनु आवश्यक छ ।
प्रतिक्रिया दिनुहोस्