
स्याङ्जा । वालिङ नगरपालिका–१३ लेटास्थित गोरेटो बाटोमा सोमबार साँझ मृतावस्थामा चितुवाको बच्चा भेटिएको छ ।
स्थानीयवासीले मरेको चितुवा देखेपछि प्रहरीलाई खबर गरेका थिए । वडा प्रहरी कार्यालय वालिङबाट गएको प्रहरी टोलीले मृत चितुवालाई सव–डिभिजन वन कार्यालय वालिङमा बुझाएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिनुभयो ।
अन्दाजी पाँच महिनाको जस्तो देखिने चितुवाको ढाडमा चोट लागेको छ । मृत चितुवाको लम्बाइ ३२ इञ्च, उचाइ १३ इञ्च र गोलाइ ११ इञ्च रहेको जनाइएको छ ।
घटनाबारे प्रहरीले थप अनुसन्धान थालेको प्रहरी प्रवक्ता अधिकारीले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्