
काठमाडौं । श्रीलंका नेभीविरुद्धको दोस्रो अभ्यास खेलमा नेपाल विजयी भएको छ ।
श्रीलंका भ्रमणमा रहेको नेपाली टोलीले मंगलबार भएको खेलमा श्रीलंका नेभीलाई ८१ रनले पराजित गर्दै दोस्रो जित हात पारेको हो । १ सय ९७ रनको लक्ष्य पछ्याएको श्रीलंका नेभी ५ बलमा मात्र १ सय १५ रन बनाउँदा अल आउट भयो ।
नेपालका पवन सर्राफले ३ विकेट लिए । यस्तै दिपेन्द्र सिंह ऐरीले २ तथा बिक्रम सोब, सन्दीप लामिछाने र कुशल भुर्तेलले समान १/१ विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४३ ओभर ४ बलमा अल आउट हुँदै १ सय ९६ रन बनाएको थियो । नेपालका दिपेन्द्र सिंह ऐरीले अर्धशतकीय इनिङ खेल्दै सर्वाधिक ६३ रन जोडे । यस्तै भीम शार्कीले २८, विवेक यादवले २६, पवन सर्राफले २२ तथा कप्तान सन्दीप लामिछानेले अविजित १४ रनको योगदान गरे ।
अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन् । ज्ञानन्द्र मल्ल १, कुशल भुर्तेल ३, रोहित कुमार पौडेल ८, विनोद भण्डारी २, बिक्रम शोबले १ र सागर ढकाल ८ रनमा आउट भए ।
यसअघि, सोमबार भएको खेलमा नेपालले श्रीलंका नेभीलाई १ सय ११ रनले पराजित गरेको थियो ।
आईसीसी पुरुष विश्वकप क्रिकेट लिग दुई अन्तर्गत सिरिजको तयारीमा रहेको नेपाल हाल श्रीलंका भ्रमणमा रहेको छ । श्रीलंकामा नेपालले श्रीलंकाको प्रथम श्रेणीको क्लबसँग ४ अभ्यास खेल खेल्नेछ ।
श्रीलंकामा अभ्यास खेल सकिएपछि नेपाली टोली श्रीलंकाबाटै मार्च १४ मा युएई प्रस्थान गर्नेछ । नेपालले लिग दुई अन्तर्गतको आफ्नो तेस्रो सिरिजमा युएई र पपुवा न्यू गिनी (पीएनजी) विरुद्ध खेल्नेछ ।
प्रतिक्रिया दिनुहोस्