
काठमाडौं । सत्तासाझेदार नेकपा (एकीकृत समाजवादी)ले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा केन्द्रीत रहेर आन्तरिक छलफल सुरु गरेको छ ।
बुधबारबाट काठमाडौंमा सुरु भएको केन्द्रीय कमिटी बैठकमा स्थानीय तह निर्वाचनमा सम्पूर्ण ध्यान केन्द्रित हुने गरी छलफल सुरु भएको हो ।
स्थानीय तह निर्वाचनलाई मुख्य एजेन्डा बनाएर बैठकमा राजनीतिक प्रतिवेदन पेश गरिएको र सोही अनुसारको कार्ययोजना, संगठन विस्तार र पुनर्गठनबारे छलफल भइरहेको पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिनुभयो ।
‘वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा हाम्रा शक्ति, सम्पूर्ण ध्यान केन्द्रित गरेर अगाडि जानेछौं,’ उहाँले भन्नुभयो, ‘आजको राजनीतिक परिस्थिति, विभिन्न राजनीतिक दलहरूबीच भएको शक्ति सन्तुलन, अब हामीले जानुपर्ने बाटोमा विषयमा हामी छलफल गर्नेछौं ।’
खतिवडाले एमसीसी संसदबाट पारित गरिएको उल्लेख गर्दै त्यसबाट उत्पन्न हुने परिस्थिति र समाधानका उपायहरूका बारेमा पनि बैठकमा छलफल हुने बताउनुभयो ।
उहाँले थप्नुभयो, ‘चुनाव प्रचारका लागि कसरी अघि बढछाैं ? गठबन्धन कुन ढंगले अगाडि बढछ ? एमसीसी संसदबाट पारित गरिसके पश्चात् अब उत्पन्न हुने परिस्थिति र त्यसलाई कसरी हामी समाधान गर्न सक्छौं ? भन्ने विषयमा पनि छलफल हुनेछ ।’
प्रवक्ता खतिवडाले बैठकले स्थानीय तह निर्वाचन प्रचारका लागि आवश्यक संयन्त्रको निर्माण गर्ने पनि जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्