
काठमाडौं । नेपाल रेल्वे कम्पनीले जयनगर–कुर्था रेल्वे सेवा सरकारले चाहे तत्काल सञ्चालन गर्नसक्ने जनाएको छ ।
जयनगर–कुर्था रेल्वेको सम्पूर्ण संरचनाको तयार पूरा भएर गत पुसमा नै रेल परीक्षण भइसकेको छ । यात्रु आवागमनको लागि भने रेल सञ्चालनमा आएको छैन ।
तर, नेपाल रेल्वे कम्पनी लिमिटेडका महाप्रवन्धक निरञ्जन झाले रेल्वे सञ्चालनको लागि सम्पूर्ण तयारी पूरा भएकाले सरकारले चाहे तत्काल रेल सञ्चालन गर्न सक्ने बताउनुभयो ।
बुधबार सञ्चारकर्मीसँगको कुराकानीमा महाप्रबन्धक झाले रेल्वे सेवा सञ्चालन गर्ने विषयमा सरकार सकारात्मक रहेको जानकारी दिनुभयो ।
कम्पनीले रेल सञ्चालनको लागि भाडा निर्धारण तथा कानून समेत बनाएको बताउँदै उहाँले रेल चल्न सुरु भएसँगै यात्रुलाई आवागमनामा सहज हुने बताउनुभयो ।
महाप्रबन्धक झाले कम्पनी नयाँ भएकाले कम्पनी स्थापित गराउनको लागि सरकारले सहयोग गर्नुपर्नेमा जोड दिनुभयो ।
रेल दुई वर्षअघि भारतीय रेल्बे कम्पनी कर्पोरेसनसँग ८४ करोड ६५ लाखमा दुई सेट रेल खरिद गरेर नेपाल ल्याएको एक वर्ष बढी भएको हो । खरीद गरेर एक वर्षपछि कुर्थासम्म ल्याएको रेलको गत पुसमा परीक्षण गरेर राखिएको छ ।
अहिले पनि रेल जनकपुरमै त्रिपालमुनी थन्किएर बसेको छ । रेल सेवा प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रुपमा उद्घाटन गर्ने तयारी भए पनि अहिलेसम्म उद्घाटनको मिति जुरेको छैन ।
भारतको जयनगरदेखि जनकपुरको कुर्थासम्म ३५ किलोमिटर रेल्वे सेवा सञ्चालनको लागि आवश्यक पूर्वाधार तयार भइसकेको छ । रेल खरिद गरेर ल्याएको लामो समयसम्म रेल सञ्चालमा आउन नसक्दा आम नागरिकको चासो रहेको छ ।
प्रतिक्रिया दिनुहोस्