
काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटा र फ्रान्स–नेपाल संसदीय मैत्री समूहका अध्यक्ष भेरोनिक रिटन नेतृत्वको प्रतिनिधिमण्डलबीच शिष्टाचार भेटवार्ता भएको छ ।
बुधबार सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा सभामुख सापकोटाले अध्यक्ष रिटन नेतृत्वको प्रतिनिधिमण्डलसँग शिष्टाचार भेटवार्ता गर्नुभएको हो ।
भेटमा उहाँले दुई मुलुकबीचको कूटनीतिक सम्बन्ध अझै सुमधुर भएर जाने विश्वास व्यक्त गर्नुभएको सभामुखको निजी सचिवालयले जनाएको छ ।
सभामुख सापकोटाले नेपाल र फ्रान्सबीच पर्यटन, कृषि र व्यापारको क्षेत्रमा थप सहकार्यको सम्भावना रहेको चर्चा गर्नुभयो ।
उहाँले नेपालले सन् २०२६ मा कम विकसित राष्ट्रको स्थितिबाट स्तरोन्नतिका लागि दुई देशबीचको साझेदारी महत्वपूर्ण हुने विश्वास व्यक्त गर्नुभयो ।
स्वतन्त्रता, समानता र भातृत्वका विषयमा नेपाल र फ्रान्सको समान दृष्टिकोण रहेको बताउँदै उहाँले दुई देशबीचको सम्बन्धलाई जनस्तरसम्म पुर्याउनु पर्नेमा जोड दिनुभयो ।
उता, अध्यक्ष रिटनले दुई मुलुकबीचको विकास साझेदारीलाई अझ गतिका साथ अघि बढाउन आफूहरू अझै सक्रियताका साथ लागिपर्ने बताउनुभयो ।
भेटवार्तामा दुवै मुलुकका संसदीय अभ्यास र त्यसका अनुभवहरूबारे पनि छलफल गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्