१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


सरकार र्‍याफ्टिङलाई राष्ट्रिय खेलमा समावेश गर्ने तयारीमा छ : मन्त्री गहतराज

त्रिशुलीमा विद्युतिय ड्याम नबनाउन खेलाडीको माग

169
Shares

काठमाडौं । युवा तथा खेलकुद मन्त्री महेश्वरजङ्ग गहतराजले सरकार र्‍याफ्टिङलाई राष्ट्रिय खेलमा समावेश गर्ने तयारीमा रहेको बताउनुभएको छ ।

बुधबार त्रिशुली नदीमा भएको १९औं हिमालय राष्ट्रिय र्‍याफ्टिङ च्याम्पियनसिप प्रतियोगिता कार्यक्रममा बोल्दै मन्त्री गहतराजले राष्ट्रिय खेलमा समावेश गर्ने विषयमा मन्त्रालयले राष्ट्रिय खेलकुद परिषद्सँग छदफल गरिरहेको बताउनुभयो ।

मन्त्री गहतराजले खेललाई मनोरञ्जनको रूपमा मात्रै नभएर उद्योमसँग जोड्नुपर्ने आवश्यकता रहेको औल्याउनुभयो । नेपाललाई समृद्ध बनाउने महत्वपूर्ण आधार भनेकै प्रकृति र संस्कृतिको प्रयोग भएको भन्दै मन्त्री गहतराजले र्‍याफ्टिङ खेल प्रकृतिसँग जोडिएकाले गुरुयोजनाको रूपमा विकास गर्नुपर्ने बताउनुभयो ।

र्‍याफ्टिङ लगायत अन्य जलासय युक्त खेलमा काठमाडौंबाट नजिकमा रहेका त्रिशुली, सुनकोसी र भेटेकासीलाई कसरी प्रयोग गर्ने भन्ने विषयमा अध्ययन गर्ने बताउनुभयो । उहाँले र्‍याफ्टिङ जस्ता अन्य पानीमा खेल्ने खेललाई सरकारले लगानी बढाउनुपर्नेमा जोड दिनुभयो ।

त्यस्तै, नेपाल पर्यटन बोर्डले प्रमुख कार्यकारी निर्देशक (सिइओ) डा. धनञ्जय रेग्मीले र्‍याफ्टिङ खेल एक साहसिक खेल भएकाले खेलाडीको क्षमता विकास गदै जानुपर्ने बताउनुभयो । उहाँले र्‍याफ्टिङ खेलाडीको क्षमता विकासको लागि पर्यटन बोर्ड विगतदेखि आर्थिक सहयोग गर्दै आएको र आगामी दिनमा पनि सहयोग गदै जाने प्रतिबद्धता जनाउनुभयो ।

डा. रेग्मीले धेरै अन्तर्राष्ट्रिय मुलुकहरूले नेपालको सिको गरिरहेको बताउनुभयो । उहाँले नेपालमा र्‍याफ्टिङ गर्ने सक्ने नदीहरूलाई राम्रोसँग प्रयोग गर्नु नसकेको दाबी गर्नुभयो ।

त्यस्तै, मेघ आलेले त्रिशुली नदीमा कोरोना महामारीपछिको पहिलो १९औं हिमालय राष्ट्रिय र्‍याफ्टिङ च्याम्पियनसिप भएको बताउनुभयो । उहाँले त्रिशुली नदीबाट र्‍याफ्टिङ मात्रै नभएर रिभर पर्यटनको सुरुवात भएको बताउनुभयो ।

तर, अहिले त्रिशुली नदीमा रिभर पर्यटनको लागि अबौं लगानी भए पनि र्‍याफ्टिङको लागि महत्वपूर्ण स्थानमा विद्युत्को लागि ड्याम बनाउने योजनाले समस्या आएको बताउनुभयो । त्रिशुलीको र्‍याफ्टिङ क्षेत्रमा सुपर त्रिशुली हाइड्रोपावर बनाउनु उचित नभएको उहाँको दाबी छ ।

त्यस्तै र्‍याफ्टिङ खेलाडी हरि आलेले त्रिशुली नदीको संरक्षण नभएर दुषित बनाउने काम भएकाले र्‍याफ्टिङ गर्ने वातावरण नभएको बताउनुभयो । उहाँले त्रिशुलीको र्‍याफ्टिङ गर्ने महत्वपूर्ण क्षेत्रमा विद्युतीय ड्याम बनाउने भएकाले ड्याम बनेसँगै नदी र र्‍याफ्टिङ खेलाडीको भविष्य नै समाप्त हुने बताउनुभयो ।

खेलाडी आलेले त्रिशुलीमा कुनै पनि हालतमा विद्युतिय ड्याम बन्न नहुने बताउनुभयो । उहाँले यदि ड्याम बन्यो भने र्‍याफ्टिङ नै बन्द हुने दाबी गर्नुभयो ।