
झापा । घरेलु टोली झापा¬–११ फुटबल क्लब जारी पाँचौं झापा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
बिहीबार भएको अन्तिम क्वार्टर फाइनलमा पाहुना टोली सिक्किमको रेडपान्डा फुटबल क्लबलाई ५–१ को गोल अन्तरले पराजित गर्दै झापा ११ सेमिफाइनलमा प्रवेश गरेको हो ।
झापा¬–११ का लागि विमल घर्ती मगर, विशाल राई बी र विश्वास श्रेष्ठले गोल गरे । रेडपाण्डाले झापा¬–११ लाई एक गोल उपहार दियो ।
रेडपान्डाले एक गोल फर्कायो । उसका लागि ६६औं मिनेटमा पेनाल्टीमार्फत योगेश मगरले गोल गरे । झापाका विशाल बस्नेतले सिक्किमका अमन रसाइलीलाई डिएरियामा फाउल गरेपछि पेनाल्टी पाएको थियो ।

झापा¬–११ ले खेलमा सुरुवाती अग्रता लिएको थियो । खेलको ३१औं मिनेटमा झापाका विमल घर्ती मगरले पेनाल्टीमार्फत गोल गरे । सिक्किमका सागर गुरुङले झापाका रुपेश बर्तौलालाई डिएरियामा लडाएपछि पाएको पेनाल्टीमा विमलले गोल गरे ।
५५औं मिनेटमा सिक्किमका पिन्सो भुटियाले अन गोल गरे । झापाका लागि तेस्रो गोल ५८औं मिनेटमा कप्तान विशाल राई बीले गरे । उनले सिक्किमका गोलरक्षक निन्डुप लेप्चाबाट रिवाउन्स भएको बललाई पोस्टको दिशा दिए ।
७७औं मिनेटमा विमल घर्ती मगरले पेनाल्टीमार्फत टिमका लागि चौथो र व्यक्तिगत दोस्रो गोल गरे । सिक्किमका पिन्सो लेप्चाको हेन्ड बलमा पाएको पेनाल्टीलाई उनले गोलमा परिणत गरे ।
तर, ६०औं मिनेटमा पाएको पेनाल्टीमा झापाका लागि विमलको प्रहारलाई सिक्किमका गोलरक्षक मिन्डुप लेप्चाले पञ्च गर्दै बचाए ।
खेलको ८९औं मिनेटमा विश्वास श्रेष्ठले गोल थप्दै टिमलाई ५–१ को अन्तरमा पुर्याए । मैदानको मध्यभागबाट लगेर गरेको प्रहार गोलमा परिणत भयो ।
८४औं मिनेटमा सिक्किम १० खेलाडीमा समेटियो । सिक्किमका पिन्सो लेप्चा दोहोरो पहेंलो कार्ड पाउँदै मैदान छाड्न बाध्य भए ।
बिहीबारको खेलको प्लेयर अफ दि म्याच विजयी टोली झापाका विश्वास श्रेष्ठ भए । उनले नगद ९ हजार ९९९ रुपैयाँ पाए ।

योसँगै पाँचौं संस्करणको झापा गोल्ड कपको क्वार्टर फाइनलको समीकरणका खेल पूरा भएका छन् । जीतसँगै झापाले शनिबार संकटा क्लबसँग फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछ ।
शुक्रबारको पहिलो सेमिफाइनल खेल त्रिभुवन आर्मी फुटबल क्लब र सातदोबाटो युथ क्लबबीच हुनेछ ।
प्रतिक्रिया दिनुहोस्