
काठमाडौं ।नीजि क्षेत्रको दुरसंचार प्रदायक संस्था एनसेल आजियाटा लिमिटेडले काठमाडौंको मुटुमा अवस्थित लैनचौर मैदानको पुनर्निर्माण सम्पन्न गरेको छ ।
आफ्नो व्यावसायिक सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत लैनचौर मैदानको पुनर्निर्माण सम्पन्न गरेको एनसेलले जनाएको छ । विभिन्न सुविधाहरूसहित पुनर्निर्माण तथा स्तरोन्नत्तिपश्चात् काठमाडौं महानगरपालिका वडा नमबर – २६ लाई एक समारोहबीच हस्तान्तरण गरिएको यो मैदान आमनागरिकका लागि खुला गरिएको छ ।

यो परियोजना पूर्ण रूपमा वडा नंम्बर २६ र स्थानीय समुदायको सहकार्यमा डिजाइन गरी पुनर्निमाण तथा स्तरोन्नत्ति गरिएको हो । नवनिर्मित यस बहुद्देश्यीय मैदान खुला गरिएको अवसरमा गत शनिबार स्थानीय क्लब र एनसेल कर्मचारीबीच मैत्रीपूर्ण फुटबल खेलको पनि आयोजना गरिएको थियो ।
५४ हजार ९२१ वर्गफिट क्षेत्रमा फैलिएको यो मैदानमा ७ ‘ए’ साइजको मिनी फुटबल मैदान, बास्केटबल कोर्ट, बालबालिकाको खेल्ने क्षेत्र, ५० रूख, हरियाली क्षेत्र, परम्परागत सत्तल, तीन ढुंगेधारा, सार्वजनिक शौचालय, सोलार बत्तीजस्ता सुविधा छन् । स्थानीय समुदाय र वडा नम्बर २६ को अनुरोधअनुसार एनसेलले यसको निर्माण र मर्मतसम्भारको जिम्मेवारी लिएको थियो । कम्पनीले आगामी २ वर्षसम्मका लागि मर्मतसम्भार गर्नेछ ।
मैदानमा अन्तर्राष्ट्रियस्तरको एस्ट्रोटर्फ बिच्छाई मिनी फुटबल मैदान बनाइएको छ । वातावरणीय पक्षलाई ध्यानमा राखी आवश्यक सबै प्रक्रिया अपनाएर एस्ट्रोटर्फ लगाइएको छ । टर्फमुनि जमिनका चारैतिर ३ फिट व्यास र १० देखि १५ फिट गहिराइका १३ वटा इनार बनाइएका छन् । वर्षायाममा पानी रिचार्जका लागि सबै इनारमा जम्मा हुँदै बढी पानीमात्र मुख्य निकासमार्फत जाने व्यवस्था गरिएको छ । पानीको निकासका लागि पनि उचित व्यवस्था रहेको एनसेलले जनाएको छ ।
मैदानको स्तरोन्नतिले समुदायमा तथा वातावरणमा महत्वपूर्ण योगदान पुग्ने विश्वास लिइएको छ । एनसेलको सीएसआर अन्तर्गत मैदानको विकास तथा संरक्षणका लागि एनसेल र काठमाडौं महानगरपालिका वडा नम्बर २६ बीच गत वर्ष सम्झौता भएको थियो ।
प्रतिक्रिया दिनुहोस्