१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


गैरआवासीय नेपाली संघको विवाद फुटतर्फ बढ्दै

कुल आचार्य समूहले बनायो अलग्गै निर्वाचन समिति

117
Shares

काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए) फुटतर्फ बढेको छ । कुमार पन्त नेतृत्वको कार्यसमिति र अध्यक्षका प्रत्यासी कुल आचार्यले समानान्तर गतिविधि अघि बढाएकाले एनआरएनए एक ढिक्का रहने सम्भावना सकिएको हो ।

यस विवादमा पूर्वअध्यक्षहरु नै पनि विभाजित बनेका छन् । पन्त नेतृत्वले गरेका निर्णय माथि प्रश्न उठाउँदै आचार्य पक्षधरले १० औं विश्व सम्मेलनमा भाग नलिने भन्दै अलग्गै निर्वाचन समिति बनाएको हो । आचार्य पक्षमा रहेका शेष घलेले छुट्टै निर्वाचन समिति पुनर्गठन गरेपछि यो विवाद उत्कर्षमा तानिएको हो ।

मार्च २४ र २५ मा गर्ने गरी पन्त पक्षधरले तोकेको समयकै आसपासमा आचार्य पक्षले विश्व सम्मेलनको मिति तोक्ने तयारी गरेको छ ।

घले नेतृत्वमा रहेको संरक्षक परिषद भंग गर्ने तथा बहुसंख्यक डेलिगेट्स रहेका देशहरुको कार्यसमिति विघटन गरिएपछि एनआरएनए विवाद फुटतर्फ तानिएको हो ।

यसअघि पन्त नेतृत्वको समितिले अमेरिका, बेलायत, अष्ट्रेलिया, क्यानडा र जापानका निर्वाचित कार्यसमितिलाई भंग गरी नयाँ कार्यसमिति गठन गर्ने निर्णय गरेको थियो । अध्यक्षका प्रत्यासी आचार्यले संरक्षक परिषद भंग गर्ने अधिकार वर्तमान कार्यसमितिलाई नरहेको भन्दै परिषदले गराएको निर्वाचनमा भाग लिने प्रतिक्रिया दिनुभएको छ । आचार्यले पन्त कार्य समितिले गराउने विश्व सम्मेलनको वैधानिकता नै नरहेको पनि जिकीर गर्नुभयो ।

निर्वाचनका लागि भाग लिन भने आज शुक्रबारसम्मको मिति तोकिएकामा आचार्य समूहले भाग नलिने जनाइसकेको छ । हालसम्म अध्यक्षका लागि डा. बद्री केसी र रबिना थापाको उम्मेदवारी दर्ता परेको छ ।

गत अक्टोबरमा तोकिएको विश्व सम्मेलनमा चुनिने प्रतिनिधिको विषयमा सुरू भएको विवादमा आचार्य पक्षले डेलिगेट्समा अनियमितता गरेको आरोपसहित परराष्ट्रमा उजुरी दिएपछि विवाद बढ्दै आजको अवस्थामा पुगेको हो ।