१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


मानसिक सन्तुलन गुमेपछि ओलीले जथाभावी बोल्न थाले, समयमै उपचार गर्दा राम्रो : अध्यक्ष नेपाल


2.652k
Shares

सुनसरी । नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी ओलीले मानसिक सन्तुलन गुमाएर जथाभावी बोल्न थालेको गम्भीर आरोप लगाउनुभएको छ ।

शुक्रबार समाजवादी प्रेस संगठनले धरानमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेपालले यस्तो आरोप लगाउनुभएको हो ।

अध्यक्ष नेपालले राष्ट्रियसभा निर्वाचनमा एमालेलाई गठबन्धनले धुलो चटाएपछि ओलीले मानसिक सन्तुलन गुमाएर एकीकृत समाजवादी पार्टी र गठबन्धन सरकारविरुद्ध जथाभावी बोल्न थालेको बताउनुभयो ।

मानसिक सन्तुलन गुमाएको मान्छे उपचार गर्न छाडेर सडकमा जथाभावी बोल्दा आफ्नै स्वास्थ बिग्रने भन्दै अध्यक्ष नेपालले समयमै उपचार गर्न ओलीलाई सुझाव दिनुभयो ।

नेपालले आगामी निर्वाचनमा पाँच दलिय गठबन्धन मिलेर चुनावी तालमेल गर्ने पक्का भएकाले कसैलाई पनि भ्रममा नपर्न आग्रह गर्नुभयो । प्रधानमन्त्री स्वयंले चुनाबी तालमेलको कुरा गरिसकेकाले चुनावसम्म गठबन्धन कायम रहने बताउनुभयो ।

‘एमसीसी पास गरेर अमेरिकाको मतियार बन्नुभयो नि ? भन्ने पत्रकारको प्रश्नमा अध्यक्ष नेपालले गठबन्धन सरकारकै कारण एमसीसी व्याख्यात्मक टिप्पणीसहित पास भएको बताउनुभयो ।

एमसीसी जस्ताको तस्तै पास गर्न आफूहरूले रोकेको दाबी गर्नुभयो । ओलीले संसदमा दर्ता गर्न लगाएर एमसीसीको प्रवक्ता बनेकोसमेत उहाँको आरोप छ ।

अध्यक्ष नेपालले ओली प्रधानमन्त्री हुँदा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गलत व्यक्ति नियुक्त गरेकाले प्रतिष्ठान बन्द हुने अवस्थामा पुगेको बताउनुभयो ।